Sorry, that menu does not exist.
 

मास्क नलगाई हिँड्नेलाई कार्बाही गर्न गृहको निर्देशन !
सरकारबाट जारी मापदण्डको पालना हुन छोडेपछी कोरोना संक्रमण फैलने सन्त्रास !

सोम शर्मा, बागलुङ २०७७ साउन ११ । सरकारले साउन ७ गतेको मध्यरातिबाट लकडाउन अन्त्य गरेपछी कोरोना भाईरसको संक्रमण नियन्त्रण एवं रोकथामका लागी जारी गरेका निर्देशनहरुको पालना हुन छोडेको छ । लकडाउनको अन्त्यको घोषणा पछी मानिसहरु कोरोनाको संत्रासबाट मुक्त भएको व्यवहार गरिरहेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले जारी गरेको निर्देशन (मापदण्ड)को पालना हुन छोडेको छ । सामाजिक दूरी कायम गरेर हिँड्ने, मुखमा अनिर्वार्य रुपमा मास्क लगाउनु पर्ने, साबुन पानीले राम्ररी हात धुनु पर्ने वा सेनिटाईजर प्रयोग गर्ने, मानिसहरुको भेला, विवाह उत्सव, वा अन्य कार्यहरुमा संख्यात्मक सहभागितालाई लिएर दिईएका निर्देशन (मापदण्ड)हरुको ठाडो उल्लंघन भैरहेको छ । बन्दाबन्दी नरहेपछी कोराना पूर्वको अवस्थामा समाज पुगेको अनुभूति मिलेको छ ।

विना मास्क सडकमा हिँडडुल गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सामाजिक दूरीको कुरा गर्ने हो भने कुन चराको नाम हो ? भन्ने अवस्था रहेको छ । कसैलाई कोरोनाको डर छैन, जथाभावी हिसाबले मानिसहरु बाहिर निस्किरहेका छन्, भीडभाड त्यत्तिकै छ सवारी साधनहरुको व्यापक प्रयोग भैरहेको छ । मुलुकको पछिल्लो अवस्थालाई हेर्दा कुनैपनि समय कोरोनाको कहर फैलिन सक्ने अवस्था नआउला भन्ने सकिने स्थिति छैन ।

बागलुङ सदरमुकाम लगायत जिल्लाका व्यापारिक केन्द्रहरु गल्कोट हटिया, बडीगाड खर्वाङ, बुर्तिवाङ बजार, जैमिनीको कुस्मीसेरा, बरेङ आदि गाउपालिकाहरुमा सामाजिक दूरीको पालना नगरी बिना मास्क लापर्बाही पूर्वक मानिसहरु घरबाहिर निस्किरहेका छन् । सहकर्मीहरु गल्कोटबाट दिनेश खत्री, खर्वाङबाट कमल पौडेल, बुर्तिवाङबाट छविलाल पाण्डे, बरेङबाट केशवराज क्षेत्री, कुस्मीसेराबाट सन्ध्या आचार्यले प्रषित गरेका तस्वीरहरुले यसै कुरालाई ईगित गरेको छ । गाउँ ठाउँ, बजार शहर जहाँपनि सरकारले जारी गरेका निर्दशनहरुको पालना हुन छोडेको छ । स्थानीय तहपनि यसप्रति यतिबेला शिथिल रहेको छ ।

हटिया बजार तस्वीर दिनेश खत्री ।
पहिले विना लक्षणका कोरोना संक्रमितहरु देखिएकोमा पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुमा कोभिड १९ को लक्षणहरु देखा पर्न थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीका अनुसार अहिले सङ्क्रमितहरुमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।
सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ अपनाउन विज्ञहरुले सुझाव दिएका छन् भने आज मात्रै मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न गृहमन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको नाममा परिपत्र जारी गरेको छ । मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न परिपत्रमा भनिएको छ । मास्क नलगाउनेहरुलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताईएको छ ।

बुर्तिवाङ बजार: तस्वीर छविलाल पाण्डे ।
नेपालमा अहिलेसम्म संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् भने बागलुङ जिल्लामा आजसम्म जम्मा संक्रमित २३२, आइसोलेसनमा भएका २१, निको भएका २१०, क्वारेन्टिनमा रहेका २०८ जना रहेका छन् ।


कुस्मीसेरा बजार: तस्वीर सन्ध्या आचार्य ।


बरेङ गाउपालिका :तस्वीर केशव राज क्षेत्री ।

पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पनि सरकारी निर्देशनको उल्लंघन गरिने क्रम बढेको छ ।
तस्वीर: प्रकाश पौडेल, कुुस्मा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment