सोम शर्मा, बागलुङ २०७७ साउन १५ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नागरिक सेवा प्रवाहमा चुस्त दुरुस्त रही अग्रणी भूमिका निर्वाह गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले, नेपाल निजामती कर्मचारी संगठन बागलुङले शहीद मनोज झपेन्द्र स्मृति दिवसका अवसरमा आयोजना गरेको बागलुङ कारागारमा रहेका कैदी बन्दीहरुलाई खेलकुद सामाग्री हस्तारण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
नेपाल निजामती कर्मचारी संगठनले स्थापना कालदेखी नै रचनात्मक कार्यहरु गर्दै आएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी न्यौपानेले कर्मचारीहरुको सेवा सुविधा बृत्ति विकास एवं नागरिक सेवा प्रवाहमा संगठनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले कारागारका कैदी बन्दीहरुको खेलकुद संयोजक अमृत कुवरलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।
नेपाल निजामति कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन संगठनका सचिव श्याम कुमार थापाले गरेका थिए ।
खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम पश्चात प्रमुख जिल्ला अधिकारी न्यौपानेले बागलुङ कारागारको निरीक्षण गरी त्यहाँको जानकारी लिएका थिए ।
हाल बागलुङ कारागारमा १२० जना कैदी बन्दीहरु रहेका छन् जस्मा महिलाहरुको संख्या १४ रहेको छ । यिनीहरु मध्य ७० जना कैदी र ५० जना थुनुवा रहेकोे कारागार शाखाका प्रमुख मोहन शर्माले ईबागलुङलाई बताए । कारागारमा एक वर्ष मुनिका एक बालक र एक बालिका आमाको काखमा छन् ।