Sorry, that menu does not exist.
 

बागलुङमा एक जना स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि : आजैदेखि कन्ट्याक ट्रेसिङ सुरु !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन १५ । स्वास्थ्य निर्देशनालय पोखराले अहिले बिहान प्रकाशित गरेको विज्ञप्ती अनुसार बागलुङमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका एक जना स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बागलुङको जैमिनी नगरपालिकाका ५२ बर्षिय एक पुरुष स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको प्रमुख गुरौंले बताए ।

यस्तै बागलुङ नगरपालिकाकामा एक जना, काठेखोला गाउँपालिकाका दुई र बडीगाड गाउँपालिकाका दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपसर्न याम बरालले ईबागलुङलाई बताए।

बरालका अनुसार बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षिय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षिय दुई जना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडीगाड गाउँपालिकाका २६ र३४ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य बागलुङ नगरपालिकाका बहराइनबाट आएका हुनभने अन्य छिमेकी देश भारतबाट आएका हुन् ।

जैमिनीमा स्वास्थ्यकर्मीलाई नै संक्रमणदेखिपछि आजैदेखि कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्यकर्मी क्वाटरमै बस्ने भकाले उक्त क्वाटरमा बस्ने अन्य कर्मचारी सहित उनी फिल्डमा गए नगएको खोजी गरि आज र भोलिसम्म सवैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

बडीगाड गाउपालिकाको खर्वाङ बजारमा बिना मास्क मानिसहरु हिँडडुल गरेको देख्न सकिन्छ । तस्वीर- कमल पौडेल, खर्वाङ ।
पछिल्लो समय कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने मापदण्डहरुको पालनामा व्यापक लापर्वाही भैरहेको परिप्रेक्ष्यमा यसलाई कडाईका साथ पालना गर्न प्रशासनबाट सूचना जारी गर्दा पनि बेवास्ता भैरहेको छ । बागलुङ जिल्लाका पालिकाहरुमा न्यूनतम मापदण्डहरुको पालना भएको छैन । आम नागरिक कोरोना सन्त्रास मुक्त भएर मास्क नलगाई, सामाजिक दूरीको ख्यालै नगरी सरसफाईप्रति कुनै चासो नराखी खुलेआम हिँडडुल गर्नाले संक्रमण फैलिन सम्भावना बढेको छ ।
  

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !