बागलुङ २०७७ साउन २९ । बागलुङ नगरपालिकाका खानेपानी उपभोक्ताहरुको एक प्रतिनिधी मण्डलले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटी खानेपानी धारामा आउने गरेको फोहोर पानीको बैकल्पिक व्यवस्थाको निम्ति ध्यानाकर्षण गराएको छ ।
सामाजिक अभियन्ता अधिवक्ता राम शर्माको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले शुद्ध सफा खानेपानीको लागी तत्काल आवश्यक पहल गर्न अनुरोध गरेको सामाजिक अभियन्ता शर्माले ईबागलुङलाई बताए ।
बागलुङ बजारमा आपुर्ति गरिने पानीको मुहान अनुगमन गरी स्वच्छ सफा पानी वितरण गर्ने प्रवन्ध मिलाउने आश्वासन प्रमुख जिल्ला अधिकारी न्यौपानेबाट प्राप्त भएको अधिवक्ता शर्माको भनाई छ ।
सो अवसरमा बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट भएका कृयाकलापहरुको फेहरिस्त पनि प्रमुख जिल्ला अधिकारी न्यौपाने समक्ष बुझाईएको प्रतिनिधि मण्डलका एक सहभागीले बताए ।
प्रतिनिधी मण्डलको माग र उपभोक्ताहरुको समस्यालाई लिएर बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारीहरुलाई भोलि जिल्ला प्रशासन कार्यालय, बागलुङमा बोलाई छलफल गरिने श्रोतले बतायो ।
प्रतिनिधी मण्डलमा अभियन्ता शर्मा, अशोक गोविन्द राजभण्डारी, ध्रुव प्रसाद शर्मा, डिल्ली गौतम, सिर्जना पन्त, बिदुर शर्मा, कृष्ण शर्मा समेतको सहभागिता रहेको थियो । प्रतिनिधी मण्डलले बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेललाई भेटी नगरवासीहरुलाई शुद्ध सफा खानेपानीको लागी ध्यानाकर्षण गराउनु पर्ने उपभोक्ताहरु बताई रहेकाछन् ।
One Comment