बविता शर्मा, बागलुङ, २०७४ बैशाख २२ । संघीय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनबाट बागलुङ नगरपालिकाको उपमेयर पदमा उम्मेद्वार बनेकी तारादेवी शर्माले बागलुङको समृद्धिको लागि आफुले उम्मेद्वारी दिएको बताएकी छिन । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानमा जन्मिएकी ३१ वर्षीय शर्माले नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट उपमेयर पदमा उम्मेद्वारी दिएकी हुन् ।
बागलुङ नगरपालिकाभित्र घरदैलो कार्यक्रम गर्दै शर्माले नगरको क्षेत्राधिकार भित्रका विवादको निरुपण गर्न उपमेयरमा उम्मेद्ववारी दिएको बताइन ।
उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । त्यो समिति मार्फत् मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारी रुपमा काम गर्नेछु शर्माले भनिन् । न्यायिकको कामसँगै नगरको विकास योजना र व्यवस्थापनका विविध पक्षमा काम गर्ने मेरो योजना छ शर्माको बथन थियो ।
उनले नगरवासीको विकास र समृद्धिको सपना पूरा गर्ने आफ्नो प्रमुख उद्देश्य रहेकै कारण त्यहाँका मतदाताले मशाल चिन्हमा मतदान गरी जिताउने छन् भन्ने कुरामा शर्मा ढुक्क देखिन्छिन् ।
नगर भित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक र पर्यटकीय क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउदै शर्माले अब साँच्चै नै बागलुङको विकास गर्ने हो भने नयाँ शक्ति पार्टी र त्यसका उम्मेद्वारलाई विजयी गराउनु जरुरी छ ।
बागलुङ नगरपालिका भित्र संचालनमा नआएको पुरानो वलेवा विमानस्थल संचालनमा ल्याउनु पनि आफ्नो प्रमुख उद्देश्य रहेको शर्माले बताइन । उनका अनुसार यो विमानस्थल सञ्चालनमा आयो भने नगरको विकास र पर्यटकीय क्षेत्र विकासको लागि सहयोग हुनेछ । शर्माले भनिन् आदिवासी जनजाति तथा महिलाहरुको आर्थिक अवस्थामा सुधार र आयआर्जनको लागि वैज्ञानिक प्रविधिमार्फत नयाँ कार्यक्रम ल्याउन र त्यसलाई पूरा गर्न पनि नयाँ शक्ति पार्टी र आफ्नो जित हुन आवश्यक छ ।
संघीय समाजवादी र नया शक्तिबाट बागलुङ नगरपालिकाको मेयरमा रमेश थापाले उमेदवारी दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति नेपाल पार्टीबाट ढोरपाटन नगरपालिकामा टेकबहादुर कुँवरले मेयरमा र जैमिनी नगरपालिका बाट प्रकाशवहादुर क्षेत्रीले मेयर र रेवती थापाले उपमेयरमा उमेदवारी दिएको पार्टीले जनाएको छ । गल्कोटको मेयरमा बमबहादुर तमु चुनाव लड्दै छन् ।
यसैगरी निसीखोला गाउपालिकाको प्रमुख र उपप्रमखमा नैनसिँह बुढा र ईन्द्रमायाँ विकले उमेदवारी दिएका छन् भने ताराखोला गाउपालिकामा संघीय समाजवादी पार्टी र जनशक्ति नेपालबाट रामबहादुर घर्तीले उमेदवारी दिएका छन् ।
यसैवच् स्थानीय तह निर्वाचनमा नयां शक्ति पार्टी, नेपालले रसुवा जिल्लाबाट पहिलो खाता खोलेको छ । पार्वतीकुण्ड गाउँपालिका वडा नम्वर २ मा नयाँ शक्ति पार्टीकी श्रीमाया वि।क वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । पार्वतीकुण्ड गाउपालिकामा उनका विरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वत स्थानीय तहमा निर्वाचित भएकी हुन् ।