टिकाराम भट्टराई,बुर्तिबाङ,२०७७ भदौ ३१ । निसीखोला गाउँपालिका ४ झिँवाखोलामा प्रसुति प्रतिक्षा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्षा घरमा रहने बिरामीहरु स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहने गरि स्वास्थ्य चेकजाँच सहित, सुत्केरी अवस्थामा आईपर्ने जटिलता र समस्या न्यूनिकरणको लागि प्रसुती प्रतिक्षघर निर्माण गर्न लागिएको हो ।
निसीखोलाको बाहोरागाउँ स्वास्थ्य चौकीमा निर्माणहुने उक्त प्रतिक्षा घर, गाउँपालिकाको ३ लाख रुपैयाँ तथा ग्रामिण स्वास्थ्य सुधार परियोजनाको २ लाख ५० हजार गरि कुल ५ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भईरहेको गाउँपालिका प्रमुख तारानाथ पौडेलले जानाकारी दिए ।
फेयरमेड फाउण्डेसन नेपालको सहयोग तथा बि.वाई.सी बाग्लुङको साझेँदारीमा सञ्चालित कार्यक्रम ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्तरगत जिल्लाको पश्चिम क्षेत्रमा गर्भवती महिलाहरुको सहजताका लागि प्रसुति प्रतिक्षा घर निर्माण भईरहेको फिल्ड् सुपरभाइजर रामेश्वर शाहले बताए ।
निर्माण गर्न लागिएको प्रतिक्षा घरमा टाढाबाट सुत्केरी हुन आउने, गर्भ अवस्थाको नियमित चेकजाँच गराईराख्नुपर्ने र प्रसुति कुरुवाको सहजताका लागि बस्ने, खाने व्यवस्था रहने छ । ४ वेड सहितको प्रतिक्षा घरमा निर्माणको अन्तिम चरणमा पुगेको सुपरभाइजर शाहले बताए । प्रतिक्षा घरमा भाडाकुँडा,ग्यास,कपडा लगायतका सामाग्री राखिने तर पकाउने खानेकुरा भने सेवाग्राही आफैले ब्यवस्था गर्नुपर्ने शाहले बताए ।
यस्तै निसीखोला गाउँपालिकाको वडा नं. २ चलाउने भन्ने स्थानमा गाउँघर क्लिनिक निमार्ण कार्य पनि अन्तिम चरणमा पुगेको जनाईएको छ । त्यस स्थानमा घुम्ती स्वास्थ्य सेवा प्रदान गर्न सहज होस भनेर गाउँघर क्लिनिको भवन निर्माण गर्न थालिएको वडा अध्यक्ष कुविर विश्वकर्माले बताए ।