प्रेम सुनार, गुल्मी २०७३ पुस २६ । यता गुल्मीको सदरमुकाम तम्घासमा महँङ्गो मुल्यको काउली खानु भन्दा आलु र सोयाविन लगायतको सस्तो .तरकारी खानु किफायत भन्दै विहान वेलुकाको गुजरा गरी रहेका छन् कतिपय परिवारहरु । अझ कतिपयले त सधै तरकारी खाँदैनन् । दालकै रसले निर्वाह पनि गर्ने गरेका छन् ।
तर ग्रमिण भेग त्यसमा पनि अस्लेवाको फाँटमा लटरम्म फलेका तरकारीहरु विक्रि हुन नसके पछि यति वेला त्यहाँका किसानहरुको गोठमा गाई भैसी र वाख्राहरुले काउली, टमाटर खाई रहेको देख्न सकिन्छ ।
नगलेको, नसडेको ताजा तरकारी त्यसमा पनि फक्रक्क फुल हालेको सेताम्य काउली देख्दा बाहिरबाट पुग्ने जो कोहीको मुखै रसाउछ । तर त्यहाँका कृषकलाई विक्रि नभए पनि सडाएर फाल्नु भन्दा गाई भैसीलाई खुवाउनु दुख गरेको खेती त्यति कै खेर नगएको महसूस हुने गरेको छ ।
अस्लेवा गाविसमा १० जना ठुला युवा व्यवसायीक किसान छन् । त्यस्तै दर्जनौले सानै लगानीमा भए पनि व्यवसायीक तरकारी खेती गर्ने गरेका छन् । वार्षिक २० लाख सम्मको तरकारी खेतीबाटै कारोवार गर्दै आएका अस्लेवा ७ का २७ वर्षिय युवा अर्जुन कनौजे यस सिननमा फलेका टमाटर र काउली विक्रि हुन नसक्दा २ लाख रुपैयाँ भन्दा बढि घाटा सहनु परेको गुनासो गर्दछन् ।
यो सिजन भारतीय कृषि उत्पादनको सिजन भएकोले त्यसको असर गुल्मी सम्मका नेपाली किसानले भोग्नु परेको कनौजे बताउँछन् । उनको खेतमा फलेको अर्गानिक काउलीको उत्पादन मूल्य नै प्रति किलो २५ रुपैयाँ पर्दछ । तर भारतको काउँली वुटवलका व्यापारिहरुले ९ ÷१० रुपैयाँ प्रति किलो गुल्मीको वजारमा पठाए पछि त्यहाँका किसानको अर्गानिक काउली नविकेको हो । तरकारी बढि मात्रमा होटलहरुले खरिद गर्ने हो कनौजे भन्छन् तर होटलहरुलाई अर्गानिक भन्दा जुन सस्तो पर्छ त्यसैमा फाईदा भए पछि हामी संग खरिद गर्दैनन् , भारतीय काउलीको मुल्यमा बेच्दा हाम्रो पर्ता नै उठ्दैन ।
अर्जुन कनौजे
कनौजेको कृषि फार्ममा काउली बढ्दै जाँदा ५ किलो सम्मको पुगेर ओईलीदै गएका छन् । टमाटर पनि पाके कुहेर झर्दैछन् । ती तरकारी सड््नु भन्दा उनले सड्नु अघि नै टिपेर एक दर्जन भन्दा बढि भैसी र ८० वटा वाख्राहरुलाई खुवाउने गरेका छन् । उनले तरकारी संगै ठुलै परिमाणमा भैसी र वाख्रा पालन पनि गरेका छन् । खरायो पनि पालेका छन् ।
तिनै पशुको दाना बनेको छ उनको कृषि फार्ममा फलेको तरकारी यति वेला । नाती नातिनातिनीहरुले त्यो मनखत लाग्दो काउली वाख्रा, भैसी र गाईलाई लगेर खुवाउँदा उनकी ८६ वर्षिया हजुर आमा होमकलाको मन दुख्छ र भकारोबाटै खोसेर दलानमा ल्याँउछिन् । चिरेर सुकाउने पनि गरेकी छिन् ।
अहिले सम्म करिव ५० क्वीन्टल टमाटर र त्यति नै काउली गाई भैसी र बाख्राहरुलाई खुवाएर करिव २ लाख भन्दा बढि क्षति भएको कनौजे बताउँ छन् ।
कनौजे सहित अन्य दश ठुला युवा कृषि व्यवसायीहरु अस्लेवा ७ का खिमलाल पाण्डे , मुक्तीराम पाण्डे, लक्ष्मण पाण्डे, हेमनाथ पाण्डे , वडा नम्वर ६ का लेखबहादुर पाण्डे, वडा नम्वर २ का यज्ञमुर्ती पाण्डे, महाशर्मा पाण्डे खिम पाण्डे र रोमनाथ पाण्डे पनि तरकारीले उचित वजार नपाए पछि निरुत्साहित बनेका छन् । गत वर्ष सम्म त्यहाँका सवै कृषकहरुको तरकारीले राम्रै वजार पाएको थियो ।
हलो कोदालो संग लडदै र पसिना बगाउँदै कृषकहरु उत्पादन गर्ने र त्यस उत्पादनलााई ठेक्का हान्नने ठेकेदारहरुले स्थानिय तहमै खपत हुने उत्पदानलाई पनि रोक्ने पहुँच बनाएका छन् । कृषक आफैले डोकोमा बोकेर ल्याएको तरकारी र फलफुल बिक्न गाह्रो छ तर ति विचौलियाहरुले गाडीमा खाँदेर ल्याए पछि वजार पाई हाल्छ । त्यसैको परिणाम भोगेका छन अस्लेवा लगायतका गुल्मीका किशासनहरुले पनि ।
गुल्मीकै वलेटक्सारमा रहेको पँैचो पसलले पनि गत वर्ष उनै युवा कृषक कनौजे संग करिव ७० लाख मुल्य वरावरको तरकारीको कारोवार गरेको थियो । तर अहिले उसले पनि सस्तो वजार नै खोजे पछि त्यहाँका किसान मर्कामा परेको बताउँछन् । कृषकहरु आफैले वजार सम्मको पहुँच नबढाए सम्म र कृषि उत्पादनलाई ठेक्का पट्टा बाट नहटाए सम्म कृषकरु निरुसाहित हुँदै जाने देखिएको छ ।