सुमन सुनार, बुर्तिवाङ २०७४ बैशाख २९ । स्थानीय तहको निर्वाचन आउन २ दिनमात्र बाँकी छ तर ढोरपाटन नगरपालिका वडा नं ६ साविकको अधिकारीचौर—३ की ७३ वर्षिया हिराकुमारी घर्तिमगर भोट हाल्न जाने की नजाने भन्नेबारे दोधारमा छिन् । घरदेखि मतदान केन्द्र धेरै टाढा भएपछि घर्तिलाई निराशा छाएको हो ।
हिराकुमारी घर्तिजस्तै ढोरपाटन नगरपालिका ६ का गाउँहरु छापडाँडा, भित्रीबन, सुब्जागाउँ र घैयाखानीका धेरैजसो स्थानीयहरुमा यहि गुनासो सुन्न पाइन्छ । वडा नं ६ को मतदान केन्द्र गादीखोला तोकिएको छ तर उक्त केन्द्रमा पुग्न छापडाँडा र भित्रेबनका जनतालाई त झन ३ घण्टाभन्दा बढी लाग्छ ।
युवा युवतीहरु ३ घण्टा हिँडेर मतदान गर्न जान सम्भव भएपनि बृद्धबृद्धा, सुत्केरी, गर्भवी तथा अपाङ्गता भएका व्यक्तिलाई भने असम्भव भएको सुव्जागाउँकी मिनादेवी घर्तिमगरले गुनासो गरिन् । सँधै अैचो पैचो चल्ने नजिकैको छिमेकीले नजिकैको केन्द्र सहिखोलामा भोट हाल्दा हामीले कसरी उती टाढा पुग्नु ? निधार खुम्च्याउँदै उमेरले ८० काटीसकेकी नइन्द्रकुमारी घर्तिको प्रश्न थियो ।
विचारै नगरी ठूला राजनैतिक दलहरुले मनोमानी रुपमा सीमाङ्कन गरेको कारण यस्तो समस्या आएको स्थानीय समाजसेवी दलबहादुर घर्तिमगरको भनाई छ । वडा नं ६ का घैयाखानी, सुब्जागाउँ, छापडाँडा, भित्रेवन र सुव्जागाउँका स्थानीयलाई पायक पर्ने गरी उपकेन्द्र निर्धारण गर्ने निर्णय जिल्लामा भएपनि त्यसको पालना गरिएको छैन ।
गत बैशाख १२ गते पनि ढोरपाटन नगरपालिका बुर्तिबाङमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गर्दा उपकेन्द्रको लागि प्रस्ताव गरिएको थियो । तर निर्वाचन अधिकृत केदारनाथ पौडेलले केन्द्र निर्धारणको अधिकार आफुहरुसँग नभएको कारण यो समस्या समाधानको लागि केन्द्रमा प्रस्ताव गर्ने आश्वासन दिएका थिए ।