गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ १३ । गल्कोट नगरपालिकाको हटियामा शनिवार गल्कोट ताराखोला गाउपालिका- ३ हिलकी उदयीमान युवा लेखिका सबिता खत्री ‘जिज्ञासु’को बिकल्प छैन कसैको (मुक्तक तथा गजल संग्रह) बिमोचन गरिएको छ ।
हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसको स्मृति कक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवं गलकोट साहित्य मञ्चका अध्यक्ष वीर बहादुर चोखालले जिज्ञासुव्दारा रचित ‘बिकल्प छैन कसैको’ मुक्तक गजल संग्रहको विमोचन गरेका हुन् ।
प्रमुख अतिथी चोखालले जिज्ञासुको कृति प्रशंसनीय भएको बताउदै शैक्षिक यात्रालाई निरन्तरता दिदै साहित्यक सिर्जनामा समर्पित हुन आग्रह गरे ।
कार्यक्रममा गलकोट बहुमुखी क्यापसका सहायक प्रध्यापक राम बहादुर खत्री, डुण्डिराज पौड्याल, गलकोट साहित्य मञ्चका उपाध्यक्ष सरु अनामिका, पृथ्वी माद्यमिक बिद्यालय हरिचौरका शिक्षक गोरख सागर खत्री, प्रेस सेन्टर गलकोटका अध्यक्ष थम्मन थापा सन्देश, प्रेस सेन्टर ताराखोलाका सचिव शान्त खत्री लगायतले गजलकार सविता खत्री जिज्ञासुका वारेमा प्रकाश पार्दै साहित्यिक क्षेत्रमा सशक्त कलम चलाउन आग्रह गरेका थिए ।
सो अवसरमा गलकोट साहित्य मञ्चका सदस्य सुनिल बोहोराले गजल बाचन गरेका थिए । कार्यक्रममा लेखिका जिज्ञासुले आफनो पहिलो संग्रहका बारेमा जानकारी दिदैँ उपस्थित सबैमा धन्यबाद ज्ञापन गरेकी थिईन् ।
‘बिकल्प छैन कसैको’ मुक्तक/गजल संग्रहमा १७ वटा गजल र १ सय ६८ वटा मुक्तक समावेस छन् ।
कार्यक्रम गुराश राष्ट्रिय बिबिध पत्रिकाका सम्पादक हरि चालिसेको अध्यक्षता, गलकोट साहित्य मञ्चका सहसचिव किरण देबकोटाको स्वागत मन्तब्य र सदस्य सुन्तली कुबरको सञ्चालन सम्पन्न भएको थियो ।