Sorry, that menu does not exist.
 

शिवालय माविको बार्षिकोत्सव सम्पन्न : नगर प्रमुख नेपालीव्दारा २ लाखको अक्षयकोष स्थापना

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ १४ । ढोरपाटन नगरपालिका—५, सहिखोलामा रहेको शिवालय माध्यमिक विद््यालयले आज आफ्नो ५९ औँ वार्षिक उत्सव भव्यताको साथमा मनाएको छ ।

विद्यालयको बार्षिक उत्सवको उद्घाटन कार्यक्रममा समुपस्थित ढोरपाटन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देवकुमार नेपालीले विद्यालयमा अक्षयकोषको स्थापना गर्न भन्दै व्यक्तिगत रुपमा रु २ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख नेपालीले विद्यालयले यसअघि उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको कुराको आफुलाई अवगत भएको भन्दै विद्यालयले आगामी दिनहरुमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए । साथै विद्यालको शैक्षिक तथा भौतिक संरचनाहरुलाई स्तरोन्नती गर्न आफु सँधै प्रतिवद्ध रहेको कुरा उल्लेख गरे ।

कार्यक्रममा विशिष्त अतिथीको रुपमा उपस्थित हुनुभएका नवनिर्वाचित उपप्रमुख करमती पुनमगर र वडा नं ५ का नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण पुनमगरले पनि विद्यालयको शैक्षिक प्रगतिको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा साविक अधिकारीचौर गाविसका सचिव कमलप्रसाद कँडेल, समाजसेवी तथा चन्दादाता धर्मबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर घर्तिमगर, पूर्व सदस्य सुनिलकुमार घर्तिमगर, समाजसेवी केशर छन्त्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै, कार्यक्रमकै अवसर पारेर विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र छन्त्यालले शैक्षिक सत्र २०७२÷७३ मा शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा विद्यालयले गरेका विविध गतिविधी सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयलाई आजको स्थितिसम्म ल्याइपु¥याउनका लागि सहयोग गर्ने जग्गादाता, चन्दादाता तथा अभिभावकहरुलाई फुलमाला तथा अबिर लगाएर सम्मान गरिएको थियो भने विद्यार्थीहरुले विचविचमा स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम जग्गादाता तथा जेष्ठ नागरिक प्रजापति अधिकारीको अध्यक्षता, शिक्षक अग्नीराज जोशीको स्वागत मन्तव्य र नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी, विद्यालयले वार्षिक उत्सवको अवसरमा आयोजना गरेका प्रतियोगीतात्मक कार्यक्रमहरु भने जारी रहेको विद्यालयले जनाएको छ । प्रतियोगीता अन्तरगत आज समय अभावले आधारभूत तह र माध्यमिक तहमा छुट्टा छुट्टै स्मरणशक्ति(मेमोरी पावर) प्रतियोगीता मात्र सञ्चालन भएको छ । जस अन्तरगत आधारभूत तह (६—८) मा कक्षा ८ का सुर्जन परियार प्रथम, कक्षा ७ की मनिता रोकामगर द्वितीय र कक्षा ७ कै सुरेन्द्र घर्तिमगर तृतीय भएका छन् । त्यसैगरी माध्यमिक तहमा कक्षा ९ का काँसिराम सापकोटा प्रथम, कक्षा ९ कै जीवन भण्डारी द्वितीय र कक्षा १० का धनबहादुर भण्डारीले तृतीय स्थान हाँसिल गरेका छन् ।

कार्यक्रम भोली पनि जारी रहने विद्यालयले जनाएको छ । विद्यालयले आयोजना गरेको अन्तरसदनात्मक छात्र÷छात्रा रस्साकस्सी प्रतियोगिता र रेडियो परिवर्तनले आफ्नो छैठौँ बार्षिक उत्सवको अवसरमा विद्यालयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगीता भोली सञ्चालन हुने छन् । साथै भोली प्रतियोगीताका विजयी विद्यार्थीहरु तथा शैक्षिक सत्र २०७३ बाट उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply