समस्याप्रति जिविस र जिल्ला प्रशासनले चासो नलिदा सेवाग्राहीलाई दु:ख !
बागलुङ २०७३ पुस २८ । गाविस सचिवहरु आफु खटिएको गाविस कार्यालयमा नबसी सदरमुकाम बागलुङ बजारमा सानो कोठा लिएर अधिकाँश समय स्वगृह गएर घरकाजमा जाने, गाविसमा आउने र आम्दानी हुने रकमको हिसाव किताव अपारदर्शी हुने, सेवाग्राहीहरुले साधारण सिफारिस लिन पनि चारपाँच दिन लगाएर खोज्नु पर्ने, साधारण सिफारिस लिनपनि रकम दिनुपर्ने, विकास निर्माणको बजेटमा लापर्बाही हुने गरेको व्यापक जनगुनासाहरु सार्वजनिक भैरहेको अवस्थामा जिल्लाको दक्षिण भेगको एक गाविस कार्यालयमा स्थानीय युवाहरुले ताल्चा लगाएका छन् भने सदरमुकाम नजिकै रहेको एकार्को गाविसमा सचिव नबस्दा सेवाग्राहीलाई जातिबित्ति नै सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
जिल्लाको दक्षिणमा रहेको जैदी गाविसमा विकास निर्माणमा युवाहरुलाई समावेश नगरिएको, गाविसको बजेटलाई अपारदर्शी ढंगले खर्च गरिएको र विकास निर्माणको काममा समेत अनुगमन नगरिएको भन्दै स्थानीय युवाहरुले गाविस कार्यालयमा तालाबन्दी गरेका हुन् भने धम्जा गाविसमा कार्यरत सचिव एक महिनामा एक हप्ता पनि कार्यालयमा नबस्दा सामान्य कामका लागि पनि सदरमुकाम धाउनु परेको र बढि भन्दा बढि खर्च हुने गरेको एक अभिमुखी कार्यक्रममा गुनासो गरेका हुन् ।
जैदी गाविसका युवाहरुले गाउँ परिषदको खुल्ला सत्र समापन सँगै परिषदको बन्द सत्रको मिति तय नगरि गाविसमा आउने बजेटलाई अपारदर्शी ढङ्गले अगाडी बढाउन खोजेकाले तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।
जैदी गाविसका युवाहरुले विगतमा गाविसले गरेका कामको प्रतिवेदन माग्दा समेत नदिएको बताएका छन् । युवाहरुले गाविसमा हुने धेरै क्रियाकलाप पारदर्शी ढंगले हुने वातावरण नबन्दा सम्म ताला नखोल्ने चेतावनी समेत दिएका छन् ।
तालाबन्दीका बिषयमा गाविस सचिव दिननाथ गौतमले परिषदका बिषयमा ठूलो समस्या नभए पनि समस्या समाधानका लागि सर्वदलीय छलफल भईरहेको बताए ।
जिल्ला विकास समितिको कार्यालयले गाविसहरुमा सचिवको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मर्कामा परेको गुनासाहरु बारम्बार सार्वजनिक हुने गरेका छन् । भाषणमा सम्वन्धित गाविसमा गएर बस्न निर्देशन दिईएको भन्दै हाकिमहरु जनताको आँखामा छारो हाल्दै आएका छन् । सेवाग्राहीको मर्काप्रति खासगरी स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीले चासो नलिदा जनताले दु:ख भोग्नु परेको गुनासाहरु बाहिर आउने गरेका छन् ।