लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ जेठ १८ । ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा आज बिहीवार जीप दुर्घटना हुदा चालक सहित ७ जना गम्भीर घाईते भएका छन् । साँझ करिव ५ः३० वजेको समयमा बुर्तिबाङ देखि भिमगिठे तर्फ जाँदै गरेको धौलागिरी यातायात समितिको रा १ ज २५८ नम्वरको जीप बुर्तिबाङको देवचोक भन्ने स्थानमा दुर्घटना हुदा जिप चालक सहित ७ जना घाइते भएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनेहरुमा साविकको अर्गल १ हाल ताराखोला गाउँपालिकाका वर्ष ३४ का चालक रमेश कुमार लामिछाने खत्री(निखिल), वडीगाड गाउँपालिका वडा नं. ९ का उमेश खत्री, लक्ष्मी थापा, माया के.सी., वडीगाड गाउँपालिका वडा नं. ६ की पार्वती के.सी., लक्ष्मी क्षेत्री र वडीगाड वडा नं. ७ की अनिता रायमाझी पौडेल रहेका छन् ।
जीप गुडिरहेको अवस्थामा स्टेरिङले काम नगरेर फेल भएपछि गाडी नियन्त्रणभन्दा बाहिर जाँदा उक्त जीप दुर्घटना भएको चालक खत्रीले बताएका छन् ।
जीप सडकदेखि करिब १६ फिट तल शाखा बाटोमा खसेको थियो । दुर्घटनाबाट सबैभन्दा बढी चोट चालक खत्रीलाई लागेको छ । उनको खुट्टामा गम्भीर चोट लागेको छ । अन्य ६ जनालाई समेत हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
घाइतेहरुको बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ र सिटी हस्पिटलमा सामान्य उपचार गरि थप उपचार हुने स्थिति नदेखिएपछि आजै पाल्पा रिफर गरिएको छ । घाइते विरामीहरुको स्वासप्रस्वासमा समस्या आएकाले र बाहिरी चोटका साथै भित्र पनि गम्भीर चोट हुन सक्ने भएकाले थप उपचारको लागि रिफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सिनियर अहेब रितुवर्ण पौडेलले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा यतिबेला डाक्टरहरु समेत तालिम र विदामा रहेकाले उपचारको लागि समस्या आएको आएको हो ।