म्याग्दी, २०७४ जेठ २० । बौद्धिक अपाङ्गताको अभिभावक संघ म्याग्दीले बेनी नगरपालिकाको सहयोगमा अपाङ्गता, बौद्धिक अपाङ्गता भएका, द्वन्द्वपीडित र दलितहरुका लागि बेनी नगरपालिका–६ डम्मरामा सञ्चालन गरेको २ दिने जनचेतनामुलक तालिम शनिवार सम्पन्न भएको छ ।
तालिमका सहभागीहरुले स्थानीय तहमा रहेका स्रोत र साधनहरुको अधिकतम उपयोग गरी आयआर्जन गर्न र बचत गरी आर्थिक तथा सामाजिक रुपमा सक्षम बन्नका लागि राज्यका निकायहरु जनपक्षीय बनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले आयातित वस्तुको प्रयोग बढ्दै गएकाले स्थानीय उत्पादन, प्रयोग र विक्री वितरणलाई व्यापक बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा बेनी नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष कृष्णबहादुर बाँनियाले गाउ घरमा खेर गैरहेका स्रोत र साधनको पहिचान, परिचालन र उत्पादनका लागि सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाउदै त्यसका लागि समुदायको सहयोग आवश्यक पर्ने बताए ।
बौद्धिक अपाङ्गताको अभिभावक संघ म्याग्दीका अध्यक्ष यामबहादुर बानियाँले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्थानीयवासीको सक्रियता र समन्वय आवश्यक पर्ने बताए ।
२ दिन सम्म सञ्चालन भएको तालिममा समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा स्थानीयको भूमिका, सहकारी मार्फत आयआर्जन र वचत लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेको अध्यक्ष बानियाले जानकारी दिए।