सुमन सुनार, बुर्तिबाङ २०७४ जेठ ३१ । ढोरपाटन नगरपालिका वडा नं. ४ छोरेगाँउमा ब्यवसायिक कुखुरा पालन सम्वन्धी १५ दिने तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग ब्यवसाय समिति शाखा कार्यलय बाग्लुङको आर्थिक सहयोग तथा संगम तालिम तथा परामर्श केन्द्र बागलुङको आयोजनामा गत जेठ १७ गते देखि सञ्चालन भएको उक्त तालिमको आज समापन गरिएको हो ।
गरिबी निवारणका लागि उद्यम विकाश कार्यक्रम (MEDPA) मेद्पा अन्र्तगत, उद्यम गरौ उद्यमी बनौ भन्ने मुख्य उदेश्य सहित आयोजना गरिएको तालिममा त्यस स्थानका १० जना कृषकहरुको सहभागीता रहेको संगम तालिम तथा परामर्श केन्द्र बागलुङका सहजकर्ता शोभा भण्डारीले बताईन ।
१५ दिन सम्म सञ्चालन भएको उक्त तालिममा कुखुरा पालन ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु, कुखुराको खोर ब्यवस्थापन, कुखुरा हुर्काउने तरिका, कुखुरा चल्लामा लाग्ने रोगहरु र यसको उपाचारमा ब्यवसायीले ध्यान दिनु पर्ने कुरा, कुखुराका लागी दाना उत्पादन गर्ने तरिका लगायतका विषयमा ढोरपाटन नगरपालिका वडा नं. ४ की जे.टि.ए. टेक मायाँ खत्रीले प्रशिक्षण दिएकी थिईन ।
समापन कार्यक्रममा बोल्दै तालिमका सहभागिहरुले कुखुरा पालन ब्यवसाय सम्वन्धी धेरै कुराहरु सिक्ने मौका संस्थाले दिएको भन्दै खुशी ब्यक्त गरेका थिए । साथै तालिमबाट सिकेका कुरालाई आत्मसात गर्दै ब्यवहारमा लागु गर्ने बताएको केन्द्रकी सहजकर्ता भण्डारीले बताएकी थिईन ।