बिमल खड्का, बुर्तिवाङ २०७४ जेठ ३१ । बुर्तिवाङ बजारमा पिउने पानीको अभावले बजारवासीले समस्या झेलिरहेका छन् । बर्खा लागे पनि पानीको मुहानमा मुल नपलाएकोले पानीको अभाव हुन थालेको हो ।
पानीको मुहान सुक्दै जाने र बुर्तिबाङ बजारमा जनसंख्या चाप बढ्दै गएका कारण पिउने पानीको समस्या बढ्दै गएको स्थानीयले बताएका छन्। बुर्तिवाङ बजारमा चुरेलाबासको छरछरे र कोईराला भन्ने स्थानबाट पानी आपुर्ति गरिदै आएको छ ।
अहिले बुर्तिवाङ बजारका सार्वजनिक धाराहरुमा पधेर्नीहरु गाग्री लिएर पालो पर्खिरहेका दृश्यहरु देख्न सकिन्छ । पधेर्नीहरुले पालो पर्खदा पर्खदै धारामा पानी झर्न बन्द भएपछी रित्तै गाग्री लिएर फर्किनु परेको बताउदै खाना पकाउन पनि समस्या भएको बताउछन् । उता बुर्तिवाङ खानेपानी आयोजनाले व्यक्तिगत तवरले वितरण गरेको पानीको धारामा पनि विहान एकैछिन पानी आउने गर्दा पानीको गर्जो नटर्ने उनिहरुको गुनासो रहेको छ ।
बनजङ्गल बिनास तथा पानीको मुहानको संरक्षण नहुदा पानीको समस्या बढ्दै गएको स्थानीयको भनाई छ । बुर्तिवाङ बजारमा आपुर्ति हुने पानीको मुहानबाटै खेतीपातीका लागि स्थानीयले पानी लग्दा पानीको अभाव भएको बुर्तिवाङ खानेपानी आयोजनाका सम्वध व्यक्तिहरुले बताउने गरेका छन् ।
बढ्दो शहरीकरण र जनघनत्वका कारण प्रयाप्त पानीको आपुर्तिका लागि बैकल्पिक श्रोतको खोजीमा ढोरपाटन नगरपालिकाको ध्यान जानु जरुरी रहेका उपभोक्ताहरुको माग रहेको छ । झण्डै १० वर्ष देखी कामगर्दै आएको बुर्तिवाङ खानेपानी आयोजनामा सुधारको आवश्यकता रहेको पनि उपभोक्ताहरुले माग गरेका छन् ।