नागरिकता सिफारिसमा त्रुटी भेट्टिएपछी जनप्रतिनिधिलाई सुझवुझका साथ काम गर्न प्रशासनको आग्रह !
राम सुवेदी, बुर्तिबाङ २०७४ असार १० । ढोरपाटन नगरपालिकाको आयोजनामा शुक्रबार यहाँ स्थित सरकारी कार्यालय प्रमुख तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा नगरपालिकालाई कसरी समृद्ध र समुन्नत बनाउन सकिन्छ भन्ने विषयमा सुझाव आदान प्रदान गरिएको छ ।
स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेपछि नगर प्रमुख देबकुमार नेपालीले पहिलो पटक कार्यालय प्रमुखहरुसँग उनीहरुका तर्फबाट राय लिनका लागि बैठकको आयोजना गरिएको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले बताए ।
अहिलेको स्थानीय तह आफैमा एक स्थानीय सरकार समेत भएकाले यहाँ स्थित सरकारी कार्यालयका तर्फबाट के कसरी सेवा प्रवाह गरिएको छ ? जनताले कस्तो सेवा चाहेका छन र जनचाहना अनुसारको सेवा प्रदानमा के कस्ता व्यवधान तथा समस्याहरु छन् भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।
बैठकमा आफ्ना धारणा राख्ने अधिकाँश सरकारी कर्मचारी तथा वित्तिय संस्था प्रमुखहरुले आफ्ना कार्यशैली र कार्यक्रमहरु जनताकेन्द्रित बनाउनुपर्ने धारणा राखेका छन् ।
बैठकमा एकीकृत सेवा केन्द्रका तर्फबाट नायब सुव्वा लोकबहादुर कुवँरले , सेवा केन्द्रबाट हालसम्म नागरिकता र राहदानी वितरण भइरहेको जानाकारी दिंदै स्थानीय स्तरमा जनप्रतिनिधि आएपछि नागरिकता सिफारिसमा त्रुटिहरु देखिन थालेको बताए ।
नागरिकता नभएकाले लिने हो एकै व्यक्तिले दुईवटा नागरिकता लिन नहुने भन्दै राम्ररी सुझबुझका साथ सिफारिस गर्न वडा अध्यक्षहरुलाई आग्रह गरेका थिए । अहिलेसम्म निसीखोला गाउँपालिकाको वडा नंं ७ र ढोरपाटन नगरपालिकाको वडा नं. ६ बाट नागरिकता लिइसकेको व्यक्तिलाई पुनः सिफारिस गरिएको पाइएकोले त्यसो नगर्न कुवँरले सुझाएका हुन् ।
यस्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रंहरी निरीक्षक कृष्ण रानाले, स्थानीय तहमा अर्धन्यायीक अधिकार हुने र त्यसको कार्यान्वयनमा सक्रियता जनाउनु पर्ने भएकाले आफ्नो कार्यालयका तर्फबाट भरपूर सहयोग हुने स्पष्ट पारे । उता गम्भीर प्रकृतिका घटना वा स्थानीय तहले हेर्न नमिल्ने प्रकृतिका मुद्दालाई यही मिलाउने कोसिस नगर्न समेत प्रतिनिधिहरुलाई प्रनि रानाले आग्रह गरेका थिए ।
बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रका तर्फबाट बोल्दै डा. विजय श्रेष्ठले, हाल सम्म प्राथमिक स्वास्थ्य केन्द्र भनिदै आएपनि अव अस्पतालमा परिणत हुने भएकाले यथासिघ्र आवश्यक जनशक्ति व्यवस्थापनमा स्थानीय निकाय सक्रिय हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
बैठकमा मालपोत कार्यालय प्रमुख नारायण घर्तिले, नगरपालिकाको मुख्य आय स्रोत भनेको जग्गा रजिष्ट्रेशन शुल्क हुने भएकाले बजार क्षेत्रमा वास्तविक कारोवारका हिसावले शुल्क निर्धारणका लागि सिफारिस भइ आएमा नगरको स्रोतमा बृद्धि हुने सुझाव राखेका थिए । त्यसका लागि नगरपालिकाको बजार क्षेत्र र ग्रामीण क्षेत्रमा कहाँ कुन जग्गाको मुल्य के कति हो भन्नै एकिन दर रेट कायम गरिएको विवरण दफा सहित मालपोत कार्यालयमा पठाउन पनि उनको आग्रह थियो।
नगरपालिका क्षेत्रमा जग्गा रिजेष्ट्रेशन गर्दा लाग्ने शुल्क ४ प्रतिशतले बढी हुने भन्दै कारोवारका हिसावले बजार क्षेत्र र ग्रामीण क्षेत्रमा अनुकुल हुने गरि जग्गाको मालपोत दररेट कायम गर्न उनेले सुझाव दिए ।
यस्तै बैठकमा पशुसेवा केन्द्र बुर्तिबाङ, इलाका वन कार्यालय प्रमुख, नेपाल बैंक लिमिटेड प्रमुख, नापी शाखा प्रमुख, आर्युवेदिक औषधालय शाखा बुर्तिबाङका प्रमुख सहित यहाँ स्थित सबै वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत आफ्ना नीति कार्यक्रम अनुरुप नगरपालिकामा रहेका नागरिकलाई दिइने सेवालाई सक्रिय बनाउने र स्थानीय निकायका प्रतिनिधिहरुबीच छलफल गरि योजना बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आगामी साउन महिना यता स्थानीय निकायको ऐन, नियम र परिचालन सम्बन्धि कानुन समेत ड्राफ्ट भइ आउने भएकाले राज्यले निर्देशित गरेको निर्देशिका पालना गर्दै स्थानीय सरकार सञ्चालनका लागि पहिलो बैठकबाट यसखालको राय लिइएको नगर प्रमुख देवकुमार नेपालीले बताए ।
बैठकमा नगरपालिका उपप्रमुख कर्मति घर्ति, वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।