लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ असार १० । बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालय परीक्षा केन्द्रमा संचालित कक्षा ११ को परीक्षा शान्त एवं मर्यादित रुपमा आज सकिएको छ ।
यही महिनाको गत असार १ गतेदेखि संचालित कक्षा ११ को परीक्षामा यस परीक्षा केन्द्रबाट ५ ओटा विद्यालयका नियमिततर्फ २ सय ३४ जना र आंशिकतर्फ १ सय ८ गरि कुल ३ सय ४२ जना परीक्षार्थीहरु परीक्षामा सहभागी भएका थिए । परीक्षाको आज अन्तिम दिन स्वास्थ्य तथा शारीरिक विषयका परीक्षार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
परीक्षा सकिए लगत्तै आज उक्त परीक्षा केन्द्रमा केन्द्राध्यक्ष धन बहादुर कुँवरको अध्यक्षतामा समीक्षात्मक बैठक सम्पन्न भएको छ ।
बैठकमा केन्द्राध्यक्ष सहित सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायत परीक्षामा खटिएका परीक्षा टिमबीच समीक्षात्मक छलफलमा सहभागी सबैले परीक्षा अत्यन्त मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएकाले आउँदा दिनहरुमा पनि परीक्षाको यही मर्यादालाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
उक्त बैठकमा बोल्दै केन्द्राध्यक्ष धन बहादुर कुँवरले परीक्षा अत्यन्त शान्त र मर्यादित रुपमा सम्पन्न भएको भन्दै परीक्षा अवधिभर खटेर महत्वपूर्ण रुपमा सहयोग गर्ने सहायक केन्द्राध्यक्ष, निरीक्षक, शिक्षक स्टाफ, कर्मचारी, सुरक्षा निकाय लगायत सबैलाई धन्यवाद दिए । साथै बैठककै अवसरमा परीक्षा टिममा सहयोग गर्ने सबैलाई अबिर लगाएर मायाको चिनोले सम्मान गरिएको थियो ।