पर्वत २०७४ असार १० । पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको गठन गरे ।
संघको अध्यक्षमा सर्वसम्मत प्रकाश कर्माचार्यलाई चुनिएको छ । अध्यक्ष कर्माचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा रामु शर्मा, सचिव प्रल्हाद गिरी, कोषाध्यक्ष शम्भु जोशी रहेका छन् भने सदस्यमा चित्रबहादुर अधिकारी, राजकुमार बस्नेत, राजेश श्रेष्ठ, गोपाल बहादुर क्षेत्री, लोकप्रसाद अधिकारी, रमेश श्रेष्ठ, विश्वराज श्रेष्ठ छन् ।
मदिरा व्यवसायीहरुले आफ्नो संघका लागि सल्लाहकार समिति गठन समेत गरेका छन् । यसमा शिव शर्मा पौडेल, नेत्र पराजुली र लेखनाथ शर्मा रहेको बताइएको छ । कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका क्षेत्रीय उपाध्यक्ष डासीराम सापकोटा, मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाको विशेष सहभागीता रहेको थियो । मदिरा व्यवसायीहरुले आफ्नो हकअधिकारको लागि एकजुट हुन थालेको बताए ।
राज्यलाई कर तिर्दा पनि कतिपय कुरामा राज्यका निकायहरुबाट दुःख र समस्या पाउनु परेको मदिरा व्यवसायीको गुनासो छ । अहिले केही मदिरा व्यवसायीहरु संगठित भए पनि विस्तारै जिल्लाभरका व्यवसायीहरुलाई समेटेर जाने नवनिर्वाचित सचिव प्रल्हाद गिरीले उल्लेख गरे । संघको निर्वाचित समितिको पहिलो बैठकले विधान मस्यौदा, सदस्यता शुल्क लगायतका विषयमा निर्णय गरेको सचिव गिरीले बताए । पर्वतमा कति प्रकारका मदिराजन्य पदार्थ कति परिमाणमा खपत हुन्छ भन्ने चासोको विषय बनेको छ ।