थम्मन थापा सन्देश, बागलुङ २०७४ असार ११ । नेपाल टेलिकमले बागलुङको तमानखोलामा नयाँ विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ। टावर सञ्चालनमा आएपछि तमानखोला गाउँपालिकाको वडा नं ३ र ४ का करिब ६ सय घरधुरीका बासिन्दा र खुङ्खानीको ६ का बासिन्दा लाभान्वित भएका छन । ग्रामीण क्षेत्रमा टेलिकमको भ्वाईस तथा डाटा सर्भिसलाई सहज र सर्वसुलभ रुपमा पहुँच पुर्याउने लक्ष्य अनुरुप सेवा विस्तार गरिएको र अब विश्व समुदाय सँग सम्पर्क स्थापित गर्न सहज हुने नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
तमानखोला जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिब डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ। उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सीमाना सँग जोडिएको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने टेलिकमको योजना अनुरुप सेवा विस्तार गरेको टेलिकमले जनाएको छ। प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।