गत वर्षमा जस्तै यस वर्षपनि बाढीले खेतबाली बगाउने त्रासमा स्थानीयवासी !
प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार १३ । ढोरपाटन नगरपालिका वडा नं. ५, सहिखोलाकी कुन्ती क्षेत्रीलाई गत बर्षको यो समयमा धान रोप्नालाई भ्याइ नभ्याइ थियो । तर यो बर्ष क्षेत्री घरायसी काम गरेरै दिन विताई रहेकी छन् । अघिल्लो बर्ष साउन महिनाको १० र ११ गते भुजिखोलामा आएको बाढीले सिँचाइको कुलो नै बगाइदिएपछि उनी यो बर्ष धान रोप्न नपाएकी हुन् । बाढीले खोलाकिनारमा रहेको खेतको आधाजसो भाग बगाइदिए पछि हरेक बर्ष धान रोप्ने खेतमा उनले अहिले मकै र आलु लगाएकी छन् ।
त्यसैगरी ढोरपाटन नगरपालिकाकै वडा नं ६, सुब्जागाउँका टेकबहादुर घर्तिमगरले यतिखेर मकै र आलु लगाएका छन् । गत बर्ष ३० मुरी धान भित्राएका घर्तिको आधाजसो खेत पोहोर सालको बाढीले बगाइदिएको थियो । उनलाई बचेखुचेको खेतमा धान रोप्न मन त थियो तर बाढीले बगाइदिएको कुलो पुननिर्माण हुन नसक्दा यो बर्ष खेत बाँझो राख्नुभन्दा अन्य बाली लगाउननै ठीक लाग्यो ।
क्षेत्री र घर्तिमगर त प्रतिनीधि पात्र मात्र हुन । सिँचाइको नै व्यवस्था नभएपछि क्षेत्री र घर्तिमगर जस्तै यहाँका धेरैजसो कृषकहरुले धानखेती हुने खेतमा यो बर्ष मकै र आलु नै लगाएका छन् । ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ अर्थात साविक अधिकारीचौर गाविस भएर बग्ने भूजिखोलाले नदी किनारमा भएका धेरैजसो खेतीयोग्य जमिन र सिंचाइ कुलो बगाएको थियो । बाढीले सिँचाइको कुलो बगाएपछि पुनर्निर्माणको लागि स्थानीयहरुले पहल पनि गरे । तर कम बजेटको कारण १ बर्ष पुगिसक्दा पनि कुनै सिचाइ योजना पूर्ण रुपमा सम्पन्न हुन सकेका छैनन् ।
तर वडा नं. ६ बगालेकी हिराकुमारी घर्तिमगरले भने यो बर्ष धान रोप्न पाएकी छन् । १० मुरी धान उत्पादन हुने उनको खेत गत बर्षको बाढीले बगाएको थियो । तर बाढीबाट बचेको खेतमा यो बर्ष उनले लघुजलविद्युतको लागि ल्याएको कुलोबाट सिँचाई गर्न पाईन । हिराकुमारी घर्तिले जस्तै स्थानीय केशव सापकोटाले पनि बिजुलीको लागि ल्याइएको कुलोबाट नै धान रोपे । उक्त स्थानमा बाढीले बगाएपछि बचेको सवैजसो भागमा बिजुलीको कुलोकै कारण रोपाई भैसकेको छ । त्यस्तै खेत नजिकै पानीको मुल हुने स्थानमा कतिपयले रोपाइ गरेका छन् भने कतिपयले मोटर लगाएर भएपनि धान रोप्ने तयारी गरिरहेका छन् । खहरे खोलाबाट सिँचाइ गर्ने कृषकहरु भने मुल फुटेर खहरे खोला बढेपछि धान रोप्न प्रतिक्षामा बसेका छन् ।
यस क्षेत्रका कृषकहरु भने पनि यो बर्ष पनि बाढी आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कहीँ कतैबाट पनि तटबन्धको व्यवस्था नभएको कारण बाली लगाइएको खेत यो बर्ष पनि बगाउने हो की भन्ने त्रास स्थानीय कृषकहरुमा छ ।
गत वर्ष साउन १० र ११ गते आएको भीषण बाढीले अधिकारीचौरका विभिन्न भागमा अपूरणीय क्षेती पुराएको थियो, संपादक राम सुवेदीले खिचेका केहि तस्बीर: