प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार १५ । ढोरपाटन नगरपालिका—६, सुब्जागाउँमा क्रियाशिल सुब्जागाउँ आमा समूहले सामाजिक भवन निर्माण गरेको छ ।
सोही स्थानका स्थानीयहरुले भवनको लागि जग्गा उपलब्ध गराएपछि समूहले आफ्नै सक्रियतामा करिब ४ लाखको लगानीमा २२ हात लामो २ कोठे भवनको निर्माण गरेको हो । भवन निर्माणको लागि समूहको रु २ लाख ८० हजार खर्च भएको छ भने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भवन निर्माणका लागि चाहिने सिमेन्ट, टिनको पाता तथा रड लगायतका सामाग्रीहरु गरी करिब १ लाख १५ हजार सहयोग गर्नुभएको समूहकी अध्यक्ष हिराकुमारी घर्तिमगरले बताईन ।
भवन निर्माणको लागि स्थानीय दवबहादुर घर्तिमगर र भवनको परिसर निर्माण गर्नका लागि स्थानीय टेकबहादुर घर्तिमगर, नयन्द्रदेवी घर्तिमगर र कमारी घर्तिमगरले जग्गा उपलब्ध गराएका हुन् । अहिले भवनमा रंगरोगन गर्ने काम भैरहेको बताइएको छ ।
भवन निर्माण भैसकेपछि समूहको बैठक बस्न तथा कार्यक्रम गर्न सजिलो हुने समूहकी सदस्य गोमा घर्तिमगरले बताउनुभयो । साथै समूहले खरिद गरेको फर्निचर तथा सामाजिक भाँडाकुँडाहरु राख्न पनि सजिलो हुने उनको भनाई थियो ।
वि.सं २०६३ सालमा गठन भएको आमा समूहले स्थानीय क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ । गत बर्ष समूहले शिवालय माध्यमिक विद्यालयलाई रु ५० हजार आर्थिक सहयोग गरेको थियो भने समूले विवाह व्रतबन्धको बेला समाजलाई चाहिने फर्निचर तथा भाँडाकुँडाहरु पनि खरिद गरेको छ । साथै आमा समूहले खानेपानीको व्यवस्थापन र बाटोघाटो निर्माणमा समेत सहयोग गर्दै आएको छ ।