Sorry, that menu does not exist.
 

दिनको २ घण्टा हिडेर दुधको ब्यापार : मासिक ६० हजार आम्दानी !

सुमन सुनार, बुर्तिबाङ २०७४ असार १६ । ढोरपाटन नगरपालिका वडा नं. ४ अर्थात साविकको खुंगा गाँउ विकास समिति वडा नं. १ छोरेगाँउका ५६ वर्षिय किसान ओम बहादुर खत्रीले पशुपालन ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । दृढ ईच्छाशक्ती र लगनशील हुने हो भने कुनै पनि ब्यवसाय गर्न उमेरले छेक्दैन, भन्ने उनी सबैका लागी उदाहरण बनेका छन् । २०६७ सालमा ३ जनाको समुह मिलेर युवा स्वरोजगार कोष बागलुङबाट ३ लाख रुपैया कर्जा लिएर ११ वटा उन्नतजातका गाई खरिद गरि ढोरपाटन नगरपालिका वडा नं. १ छरछहरे भन्ने स्थानमा सामुहिक गाईपालन ब्यवसाय सुरु गरेका हुन् । तर भाडामा लिएको जग्गामा प्रसस्त मात्रमा घाँस उत्पादन नहुदा ब्यवसायबाट घाटा खानुपरेकाले त्यस स्थानमा ब्यवसाय छोड्नु परेको उनले बताए ।

ब्यवसायबाट घाटा खानुपरे पछि आफु आफ्नै घरमा गएर ब्यवसाय गर्ने सोच बनाएर २०६८ मा नेस्डो नेपाल बागलुङबाट ९० हजार कर्जा लिएर दुई वटा उन्नत जातका गाई खरिद गरी गाईपालन ब्यवसाय शुरु गरेका किसान खत्रीको ब्यवसाय फस्टाउदै गएपछि अहिले उनको दैनिकी फेरिएको छ ।

उनको फार्ममा अहिले उन्नतजातका ११ वटा गाई रहेका छन् । जस मध्य ३ वटा दुहुना रहेका छन । अरु ६ वटा ब्याउने अवस्थामा र २ वटा बाच्छी रहेका छन् । ती दुहुना गाईले दैनिक ३० लिटर दुग्ध दिने गरेको उनँले बताए । १४ वर्ष रोजगारीको शिलशिलामा साउदी, कतार मलेसियामा बिताएका खत्रीले विदेशमा कमाएको पैसाले घरखर्च चलाउन पनि धौधौ भएपछि घर फर्किएर गाईपालन ब्यवसाय सुरु गरेको बताउछन् । उत्पादन भएको दुध गाग्रीमा बोकेर हरेक दिन विहान ५ वजे छोरेगाँउबाट २ घण्टाको बाटो हिडेर पश्चिम क्षेत्रको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङ बजारमा झर्ने र दुध विक्रि गरि घर फर्कने अहिले उनको दैनिकीबनेको छ, । यसरी दुध विक्रि गरेरे मासिक ४५ हजार देखि ६० हजार सम्म आम्दानी गर्दै आएको उनले बताए ।

दुधकै आम्दानीबाट १ लाख ५० हजारको लगानीमा कुटानी पिसानी मिल सञ्चालन गरेको उनले बताए । उनले आफ्नो कान्छो छोरालाई भेट्नरी शिक्षा पढाई रहेको बताए । आफुले सञ्चालन गरेको मिलबाट पनि राम्रै आम्दानी हुने गरेको खत्रीको भनाई छ । खत्रीलाई श्रीमती खिम कुमारी खत्रीले सघाउदै आएकी छन् । उनले ६ रोपनी जग्गामा अन्नबाली लगाउन छोडेर हिउँदको समयमा जै घाँस लगाउदै आएको बताए । वर्षातको समयमा भने बारीमा प्रसस्त घाँस उत्पादन हुने भएकाले घाँस लगाउन नपरेको उनको भनाई छ । तर वर्षातको समयको घाँसले भन्दा हिउँदको समयमा लगायको जै घाँस अझै पोसिलो भएको भन्दै गाईले राम्रो दुध दिने गरेको बर्ता ।

गाईपालन संगसंगै दिनभरको फुर्सदको समयलाई सदुपयोग गर्न खत्रीले तरकारी खेती समेत गर्दै आएका छन । तरकारी खेतीमा विशेष गरि आलु, बन्दा, प्याज, लसुन, सिमी लगायतका तरकारी लगाउदै आएको र प्याज, लसुनको बेर्ना समेत उत्पादन गरि विक्रि गर्दै आएको उनले बताए । तरकारी खेतीबाट पनि बार्षिक ६० हजार भन्दा बढि आम्दानी गर्दै आएको उनको भनाई छ ।
आफुले विदेशी भुमिमा खर्चेको १४ वर्ष भन्दा गाँउमा दुध ब्यवसायमा खर्चेको ७ वर्ष आफ्नो लागि निकै उपलब्धीमुलक रहेको भन्दै ब्यवसायबाट निकै सन्तुस्ट रहेको बताउछन् उनी । आगामी दिनमा गाईपालन ब्यवसायलाई अझै आधुनिक र ब्यवस्थित बनाउदै लैजाने उनको लक्ष छ ।

आफ्ना श्रीमती, २ छोरा र एक बुहारी गरि ५ जनाको परिवार रहेको र जेठो छोरो रोजगारको शिलशिलामा देश भन्दा बाहिर रहेको उनले बताए । बुवा छोरा संगै मिलेर गाईपालन ब्यवसाय गरौ भनि धेरै सम्झाई बुझाई गर्दा पनि छोराले गाँउमा दुःख गरि पैसा कमाउन नसकिने भन्दै विदेशीयको भन्दै दुःख पोखे ।

आफ्नो छोरा जस्तै आफ्नो गाउघरमा काम गर्न हिचकिचाई हातमा पासपोर्ट बोकेर खाडी मुलुकमा मासिक २०, २५ हजारका लागी पसिना बगाउन जाने युवाहरुले ठुलो रकम लगानी गरेर घर परिवार देखि टाढा रहेर अर्काको देशमा गएर दःुख गर्नु भन्दा त्यहि लगानी आफ्नै माटोमा गर्न सके आफ्नै देशमा रहेर पनि राम्रो गर्न सकिने खत्रीले सुझाव दिने गर्छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply