काठमाडौं, २०७४ असार २३ । सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले आयोजना गरेको ५ दिने सहकारी तथा गरिवी सूचना प्रणाली (COPOMIS) सम्बन्धी प्राविधिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका सहकारी संघ संस्थाहरुमा विद्युतीय सूचना प्रणाली मार्फत सुशासन स्थापना गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागेको व्यवस्थापन सूचना प्रणालीलाई देशभर फैलाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीमार्फत राज्यको अर्थतन्त्रमा पु¥याउने योगदानलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।
सहकारीको आन्तरिक व्यवस्थापन देखि वित्तीय व्यवस्थापनलाई समेत पारदर्शी र समय अनुकुल बनाउन कोपोमिस प्रभावकारी हुने धारणा व्यक्त गरे ।
बैंकका प्रवन्ध सञ्चलालक के.बी. उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार नारायण ज्ञवाली, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य भरतप्रसाद आचार्य, प्रशिक्षक सगुन धाख्वा, प्रशिक्षार्थीहरु सविना बस्नेत र बिनोद भट्टराईले तालिमको प्रभावकारिताका बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सञ्चालन बैंकका शिक्षा तथा तालिम विभागका प्रमुख रामबाबु आचार्यले गरेका थिए ।
तालिममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधान, सहकारी विभागका उपरजिष्ट्रार नारायण ज्ञवाली, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य भरतप्रसाद आचार्य, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्राविधिक प्रशिक्षक सगुन धाख्वा र प्राविधिक विवेक बरालले सहजीकरण गरेका थिए ।
बैंकका सञ्चालक तथा कर्मचारीलाई सहकारी तथा गरिवी सूचना व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षण दिएर देशभरका सहकारीलाई यो प्रणाली बारे जानकारी दिने उदेश्यका साथ तालिम आयोजना गरिएको र तालिम प्रभावकारी बनेको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले बताए ।
सहकारी क्षेत्रको सूचना, तथ्याकंहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई ब्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धती स्थापित गर्न आधुनिक सूचना प्रणालीको विकास गर्न, सहकारी संघ, संस्थाहरुको गठन, आर्थिक कारोवार, वित्तीय सूचना तथा सेवा प्राप्तीमा सम्बन्धित सबैको पहुँच अभिबृद्धि गर्ने लगायतका उदेश्य राखेर सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी तथा गरिवी सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ ।