हरि शर्मा, बागलुङ २०७३ माघ ४ । शिवशक्ति बालविकाश केन्द्र छिस्ती ३ को नवनिर्मित भवनको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी खुमराज पराजुलीले समग्र विकासका लागि स्थानीय अभिभावक ,युवा र स्थानीय सरोकारवाला निकायहरुबीच एकता आवश्यक रहेको बताए। उनले भवन निर्माण गर्नका लागि क्लवले विदेशी संस्थाहरुसँग गरेको सहकार्य राम्रो भएको भन्दै प्रशंसा समेत गरेका थिए ।
झन्डै ६ लाख ८३ हजार ९ सय ४६ को लागतमा सम्पन्न भएको उक्त भवनका लागि नर्वेका नागरिक डोनर थोमस इस्ट्रोम्यनले सहयोग उपलव्ध गराएको क्लवले जनाएको छ । डोनर थोमसले भवन निर्माणका लागि गरेको सहयोग हाम्रा बाबुनानीहरुको शैक्षिक उन्नयन र विकाशका लागि भएको क्लवका अध्यक्ष सुरेस क्षेत्रीले बताए । वि।सं २०५९ सालमा पुस ४ गते चार पाँचजना व्यक्तिहरुको पहलमा स्थापना भएको क्लवले समाज रुपान्तरण र विकासका लागि समय—समयमा प्रदुषण नियन्त्रण,जलवायु सम्वन्धि चेतना लगायतका सामाजिक काम गर्दै आएको छ ।
सो अवसरमा क्लवका संस्थापक सदस्य यामबहादुर क्षेत्री ,नेपाली कांग्रेसका गाउँ कार्य समिती छिस्तीका सभापति दयाराम पौडेल,एमाले गाउ कमिटी अध्यक्ष भोजराज शर्मा,राजमोका रघुनाथ उपाध्याय,नयाँ शक्ति नेपालको संयोजक एवं जनसेवा युवा क्लवका अध्यक्ष मिलन शर्मा, बसन्त माविका प्रअ होमनाथ शर्मा लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रम शिवशक्ति युवा क्लवका अध्यक्ष सुरेश क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लवका संस्थापक अध्यक्ष सोमनाथ ढकाल र सञ्चालन क्लवका सचिव दिपेन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।