प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ साउन ६ । ढोरपाटन नगरपालिका—३, घोसाखानीमा करेन्ट लागेर आज एक बृद्धाको ज्यान गएको छ । आज विहान गोठबाट घर जाने क्रममा ढलेको विजुलीको पोलसँगै भुइमा लत्रेको तारमा करेन्ट लाग्दा स्थानीय ६७ बर्षिया बलजनि सुनारको ज्यान गएको हो ।
सुनारले बिहान करिब सवा ५ बजेतिर घोसाखानीको फुलबारी टोलमा पोल ढलेर भुईँमा झरेको हाइटेन्सनको तारलाई हातले पन्छाउन खोज्दा करेन्ट लागेको रिठाखोला लघुजलविद्युत आयोजनाका म्यानेजर नारायण घर्तिमगरले बतऐ । मृतक सुनारको शव प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि आफन्तले बुझिसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।
गए रातिको हावाहुरीसहितको पानीको जिर्ण अवस्थामा रहेको काठे पोल ढलेको हुन सक्ने तर स्थानीयहरुले आफुलाई खवर नगरेकोले दुर्घटना भएको घर्तिको भनाई छ । आयोजनाबाट विभिन्न ठाउँहरुमा वितरण गरिएका कतिपय ठाउँमा काठेपालको प्रयोग भएको र ती पोलहरु जीर्ण अवस्थामा रहेको बताइएको छ ।