कमल पौडेल, गुल्मी (वामी) २०७४ साउन ८ । गुल्मीको मुसिकोट नगरपालिकालाई यहि असोज १ गते उज्यालो नगरपालिका घोषणा गरिने भएको छ ।
शनिवार वसेको नगर कार्यपालिकाको वैठकले पदभारको १०० दिनको अवसरमा सो घोषणा गर्ने निर्णय गरेको हो । उज्यालो नगरपालिकाको सवै तयारी पुरा गर्न वडा नं. ९ का वडा अध्यक्ष नरेशराज खरेलको संयोजकत्वमा उज्यालो नगर उपसमितिको पनि गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नं. ६ का अध्यक्ष खड्क वहादुर खड्का र वडा नं. २ का अध्यक्ष लक्ष्मण खत्रि रहनु भएको छ। त्यस्तै नगरकार्यपालिकाको वैठकले यहि साउन २५ गते नगर परिषद्को उद्घाटन गर्ने तथा २६ गते नगरपरिषद् सम्पन्न गर्ने निर्णय गरेको छ।
यहि साउन १५ गते सम्म प्रत्येक गाउँ टोलवाट योजना छनौट गर्ने, १६ र १७ मा वडा स्तरमा योजना छनौट गर्ने, १८ गते नगर वैठक वस्ने, १९, २० र २१ गते विषयगत छलफल गर्ने, २२ र २३ गते नगर कार्यपालिकाको एकिकृत वैठक बसी योजनाहरु स्वीकृत गर्ने र नगरपरिषद्मा पेश गर्ने गरि कार्ययोजना निर्माण गरिएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
त्यस्तै बैठकले प्रत्येक वडा कार्यालयहरुलाई व्यवस्थित गराउने निर्णय गरेको छ । वडा कार्यालयको स्वामित्वमा जग्गा रहेको तर भवन नभएको र उपयुक्त कार्यालय भवन पाउन नसकेका वडाहरुको लागी तत्काल ३ लाख वजेटको व्यवस्था गर्ने तथा अन्य वडाको लागी १ लाख ५० हजार को व्यवस्था गर्ने निर्णय गरेको छ । खासगरि वडा नं. २ को मुसिकोट र वडा नं. ९ को अर्लाङ्कोटमा वडा कार्यालयको अभाव रहेकोले ट्रस्टको व्यवस्था गरेर भएपनि कार्यालय संचालन गर्न सो रकमको व्यवस्था गर्ने निर्णय गरेको हो ।
त्यस्तै वैठकले स्थानिय तह संचालन ऐन तथा नियमावली अनुसार नगरउपप्रमुख कमला शर्माको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समितिको गठन गरेको छ । समितिको सदस्यमा वडा नं. ४ का अध्यक्ष कर्णध्वज जीसी र वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले रहेका छन् । त्यस्तै उपप्रमुख शर्माकै संयोजकत्वमा राजश्व परामर्श समितिको गठन गरिएको छ । जसको सदस्यहरुमा प्रकाश काफ्ले, रेणुभारी प्रधान तथा सदस्य सचिवमा नगरपालिका कार्यालयका लेखापाल तथा पदेन सदस्यमा कार्यकारी प्रमुख रहेका छन् ।
त्यस्तै नगरप्रमुख सापकोटाको संयोजकत्वमा स्रोत व्यावस्थापन तथा योजना तर्जुमा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा उपप्रमुख शर्मा, कार्यपालिका सदस्यहरु हरि छन्त्याल, सत्य जीसी, जुद्ध वहादुर विक रहेका छ भने सदस्य सचिवमा कार्यकारी अधिकृत धनश्याम न्यौपाने रहेका छन् ।
बैठक नगरप्रमुख सापकोटाको अध्यक्षता तथा कार्यकारी अधिकृत धनश्याम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।