“हेर्न यार , यो फोटो मैले कुनै दिन खिच्देको थिएँ । आज फेसबुकमा प्रोफाइल पिक्चर हालिछे । किन यति बिदीसम्म गर्न सकेकी होला है ।“ केदार मोबाइल मलाई देखाउँदै निरासा व्यक्त गर्दै थियो। ऊ अझै थप्दै थियो, “ म पत्रकारिता बिषयक रेडियोको ट्रेनिङ दिन जाँदा मैले उस्को फोटो खिच्देको थेँ। फेरि याद आयो, उफ् ।“
केदार शर्मा मेरो सहकर्मी हो। हामी दुवै एउटै एफएममा काम गर्छौँ। रिलेशन एफएम ८८ मेगाहर्ज। ऊ कुशल समाचारवाचक हो । पातलो केटो अनि पानीले खाएको खेतमा कता कतै धान उम्रेझैँ दाह्री जुँगा उम्रिएका छन् । लगभग २० वर्षको हुँदो हो । मभन्दा त्यस्तै ३र४ वर्ष कान्छो । तर पनि म उसलाई भाइ भन्दिनँ । साथी नै भन्दा निकट भएझैँ लाग्छ ऊ मलाई। भानु जयन्तीको दिन थियो। हामी केही स्रस्टासँग भानुका महिमाका बारेमा कुरा गरेर बैठक कोठामा आराम गर्दै थियौँ । उसले वाइफाइ अन गरेर हेर्दा एउटा तस्वीर देखेपछि न्याउरो मुख लगाउदै भनेको थियो। “किन हाल्नु परेको होला यो फोटो ! “ मैले यसो आँखा तन्काएर उसका मोबाइलमा हेरेँ। त्यहाँ कुनै एउटी युवती ढुङ्गा माथि बसेर पहाडतिर क्षितिज नियाल्दै थिई। मैले अचम्म मान्दै सोधेँ , “ किन ? के भो र ! तिमीले खिचेको फोटो फेसबुकमा प्रोफाइल बनाउनै नहुने के छ र? राम्रो लाग्यो हाली होला नि ! बरू मख्ख पर न तिम्ले खिच्देको फोटो राम्रो लागेछ भनेर।“ मेरो जवाफ सुनेर एकछिन चुप लाग्यो ऊ । फेरि मैले थपेँ ,“ अब मैले पनि तिम्ले खिच्देको कुनै फोटो फेसबुकमा हाल्नु भएन है ? “ यतिभन्दा उसले हाँसेर जवाफ फर्काउला भन्ने म आशामा थिएँ । अँह यो पाली पनि ऊ केही बोलेन । मात्र मोबाइल चलाउदै बसिरह्यो । त्यसपछि मैले पनि जवाफ नपाएपछि आफ्नै मोबाइल चलाउनतिर लागेँ ।
हामी एउटै सोफामा झन्डै नजिक नजिक बसेका थियौँ तर हामी छोइएका थिएनौँ। एक्कासी केदार सुक्कसुक्क गरेको आवाज मेरो कानमा आएर ठोक्कियो । म झन् अचम्ममा परेँ । मैले केही भनेर उसको मनमा चोट त परेन भनेर आफ्नै जवाफलाई पुनः स्मरण गरेँ । खासै केही भने जस्तै लागेन र यो उसको अनौठो व्यवहार देखेर उसको मुन्टो आफुतिर फर्काउदै सोधेँ । त्यति बेलासम्म उसको आखाँमा अश्रुधाराले घरजम गरिसकेको रहेछ । “ केदार ! किन के भो एक्कासी? मैले केही भने हो तिमीलाई? “
ऊ केही बोल्नै खोजेन । मलाई भने ऊ किन भावविह्वल भएको बुझ्न मन लाग्यो।
फेरि सोधेँ,“ हैन किन नबोलेको यार , भन न के भो तिम्लाई ? मैले केही भनेको भए सरी यार । “
मैले कान समाउदै भनेको थिएँ। यतिबेला भने ऊ बल्ल बोल्यो ।
“ तिम्ले केही भनेको छैनौ “ यति मात्र ।
“ अरे यार ! के भो भन न त फोटो हेर्दा हेर्दै, कुरा गर्दा गर्दै अचानक रूनु पर्ने के भो त तिमीलाई?“
“ खासमा कुरो अर्कै छ यार ।“
अहिले भने ऊ अलि सम्हालिएर बोल्दै थियो।
“ खासमा कुरा के भने नि यिनी मेरी मिल्ने साथी थिइन्। हामी एकै गाउँका र एउटै स्कुल पढ्ने । विस्तारै हामीले एकअर्कालाई मन पराउन थाल्यौँ । मलाई ऊ असाध्यै माया गर्थी । म पनि उतिकै माया गर्थेँ । त्यो बाग्लुङ्गको डाडामा उकाली ओराली गर्दै स्कुल पढ्न गएको आजझैँ लाग्छ। प्राय स्कुलबाट फर्कदा हामी दुवै सँगै आउने गर्थ्यौँ । एकदिन बाटोमा आउदा आउदा पानी परेको थियो। छाता थिएन। किताब हाल्ने झोला पनि थिएन । ऊ किताब भिज्ने पीरले रून थाली । मैले बाटामा उम्रिएको कर्कलाको पात टिपेर उसको किताब छोपिदिएँ अनि आफ्नो पनि छोपेँ र दुवैले कर्कलाको पातमा छोपेको किताब टाउकामा राखेर घर आयौँ । ऊ निकै खुसी भएकी थिई त्यसदिन । भोलिपल्ट रातो कुर्ता सुरुवालमा सजिएर स्कुल आएकी थिई । म भने एकछिन सम्म हेर्याहेर्यै भएछु । साच्चिकै ऊ सिनेमाकी नायिका जस्तो देखिएकी थिई। कल्पना गर्दा गर्दै ऊ भने अगाडि पुगिसकिछ । तर बोलाउदा भने बोल्दै बोलिन । अचम्ममा परेँ किन बोलिन भनेर । कक्षामा बस्दा खाजा खाने बेलामा पनि बोल्नै मानिन । रिसाएर पर जान्थी । मानौ अब उसले मसँग कहिल्यै नबोल्ने कसम खाएकी छे । किन बोलिन ? के भयो? मलाई यस कुराको जवाफ उसको मुखबाट सुन्ने मन थियो। घर आउने बेला भने बाटो छेकेर सोधेँ । अझै ऊ रिसाउँदै थिई । उसको जवाफ सुनेर एकछिन त म मज्जाले हासेँ । ऊ भने रिसाएर हिड्न थाली । खासमा हिजो कार्कलाको पातबाट चुहिएको चोप सबै सर्टमा लागेर दागै दाग लागेछ । त्यसैले पो रिसाएकी रैछे। अलि दौडिएर हात समातेर माफी मागे,“ सरी ल ! हिजो किताब जोगाउने बाहानामा सर्टको त ख्यालै भएनछ ।“
मेरो यति कुरा भुइँमा खस्न नपाउँदै जवाफ फर्काइ हाली , “ सर्टको ख्याल नगर्नेले मेरो कसरी ख्याल गर्छ होला ? मायाको कसरी ख्याल गर्छ होला ?“
उसले यतिभन्दा मेरो मनमा चि….सो पस्यो । मैले एक्कासी उसलाई अङ्गाल्न पुगेछु र आँसु पनि बिना अनुमति खसेछ । “ लाटी! का माया र कपडा एउटै हुन्छ त । माया त अजम्बरी पो हुन्छ त पोक्ची ।“
यति भनेर मैले उसको गाला म्वाईं खाइदिदा ऊ लाजले दौडेर घर पुगी र म पनि मुस्कुराउँदै घर लागेँ ।
शनिबारको दिन । हाम्रो स्कुलले १ दिने रेडियो तालिमको व्यवस्था गरेको थियो । हामी दुवै जनाले सहभागिता जनाएका थियौ । उसलाई रेडियोमा बोल्न खुब मन लाग्दो रहेछ । मचाहिँ उससँगै हुने निहुँले गएको थिएँ। खुब रमाइलो भएको थियो त्यतिबेला। सरले अगाडि लगेर बोल्न लगाउदा ऊ रातो निलो भएकी थिई र पछि राम्रै सँग बोली । मलाई भने बोलाएनन् धन्न बोल्न परेन । मेरो त सत्तोपुत्लो नै उडिसकेको थियो।
हामी त्यसपछि घर फर्कियौँ । मैले बुबाको मोबाइल सुटुक्क नभनी लगेको थिएँ । बाटोमा आउदा विभिन्न ठाउँमा बसेर एकअर्काको फोटो खिच्दै आयौँ । एउटा ढुङ्गामा बसेर उसले भनेकी थिई ।
“यदि म यहीबाट खसे भने के गर्छौ ? “
चुप लाग , जे पाए त्यही बोल्छन् भनेर मैले गाली गरेको थिएँ।
“ उसले भनेको थिई, “ मलाई कति माया गर्छौ? “
(“गर्दिन।“
(“किन अगि त्यस्तो भनेको त माया नगर्ने भए?“
(“माया नगरेर भनेको “
त्यसपछि ऊ रिसाउन थाली ।
(““बादर्नी गरिहाल्छु नि । यस्तो पनि सोध्ने कुरा हो त ?
के भन्छौ भनेर गर्दिन पो भनेको त ।नरिसाउन । रिसाइहाल्नु पर्छ है !“
(“के त माया गर्दिन भनेसी रिस उठ्दैन त ।
त्यसपछि दिनहरू कापीका पाना जस्तै क्रमशः पल्टिँदै गए । हामी ठुला भयौँ । दुवलेै एसएलसी पास गर्यौ र कलेज पढ्ने पनि दिन आयो । तर बिडम्बना उसले र मैले पढ्ने कलेज छुट्टियो । अब हामी एकअर्काबाट छुटिने भयौँ । ऊ गुल्मी मामाघरमा बसेर पढ्थी। अब आफ्नै घर बागलुङमा बसेर पढ्ने रे ममीले बोलाउनु भाको छ रे। यो पीडाले मनमा साह्रै नै पीडा दियो। अब कसरी एकअर्काबाट छुटिएर बस्ने भन्ने कुराले दुखित बनायो । ऊ अब दिदीको घर गुल्मी बसेर पढ्ने भई । म यतै बाग्लुङमा बसेर पढ्ने भएँ। विवशता थियो हाम्रो छुट्टिएर पढ्नु पर्ने । मन त थियो सँगै मिलेर कलेज पढ्ने । एउटै बेन्चमा बस्ने अनि माया र पढाइको रफ्तारलाई एकै चोटी अघि बढाउने तर कहाँ भने जस्तो हुँदो रहेछ र । आखिर छुट्नै पर्ने भयो । ऊ पारी म वारी । र पनि माया त माया हो । जो जहाँ भए पनि माया सधैँ प्रगाढ नै रहन्छ । यही आसाले छुट्टियौं । त्यसदिन हामी निकै रोएका थियौँ । एकअर्कालाई अङ्गालो हालेर धेरै बेर सम्म आँसु झारिरहेका थियौँ । उसले मलाई नबिर्सनु है भनेर अझै जोड जोडले अङ्गाल्दै मेरो छातिमा टासेकी थिई। मैले पनि उसका आँसु पुछ्दै विश्वास गर्न र माया गर्न अनुरोध गरेर सान्त्वना दिएको थिएँ। त्यसदिन मभन्दा बढी ऊ रोएकी थिई । मसँग छुटिनै मानेकी थिइन र पनि आखिर छुट्टिनु पर्ने त थियो। ऊ हात हल्लाउँदै हल्लाउँदै गाडीमा चढी। गाडी गुड्यो म मात्र हेरिरहे । फर्काएर ल्याउन पनि त सक्दिन थे हेर्नु शिवाय । म आफ्ना आँसु सर्टका बाहुलाले पुछ्दै घरतिर लागेँ।
ओहो अब कसरी भेट्ने घर पुगेपछी पो छट्पटी भयो । फोन उसँग पनि छैन मसँग पनि छैन। हाम्रो घरमा बुबाको बाहेक कसैको मोबाइल थिएन। अब उसको चाहिं कसरी नम्बर लिने होला म त बेलाबखतमा बुबाको मोबाइल हात पारूला उसको दिदीको नम्बर कति होला ? मलाई छट्पटी भयो । उसको घरमा गएर माग्नु पर्यो भन्ने सोचेँ । माग्न त माग्ने तर फेरि के भनेर पो माग्ने मनमा अनेक उपायहरू सल्बलाउन थाले। यसरी नै माग्ने भनेर दिमागमा केही आएन आए पनि तार लाग्ने खालका विषय आएन । कसरी थाहा पाउने उकुसमुकुस भइरह्यो। यसरी नै सोचेर बसिराखेको थिएँ। बुबाले बोलाउनु भयो। म झसङ्ग भएँ । बुबाको मोबाइलमा मलाई खोज्दै कसैले फोन गरेको रहेछ। “हेलो “ भनेँ। उताबाट आवाज आयो । हेलो केदार ! म ….. म आइ पुगेँ । मैले दिदीको मोबाइलबाट फोन गरेको । तिमी राम्रोसँग बस ल । कहिले काँही यसैमा कुरा भैहाल्छ । तिमी राम्रो सँग पढ । आइ लब यु। बाइ ।“
ढुङ्गा खोज्दा देउता मिल्नु भनेझैँ भयो । उतैबाट उसैले गरिछ । बल्ल मन शान्त भयो। मैले ल ल मात्र भने उसले फोन काटिसकिछ ।
यसो भनिरहँदा केदारको मुखमा एउटा फुल भर्खरै प्रकृतिलाई अङ्कमाल गर्न फक्रिएझै लाग्दथ्यो । एकछिन ऊ मनमनै रमायो र फेरि केही सम्झिएँझै गम्भीर भयो र भन्यो ,“ तर यार राज ! जिन्दगी कल्पना देखेजस्तै नहुँदो रैछ, जिन्दगीमा सोचिएको भन्दा धेरै नसोचिएका कुरासँग पैठाजोरी खेल्दै अघि बढ्नु पर्दो रहेछ।“
“हामीले ११ पनि पढेर सक्यौँ । १२ पनि पढ्न सुरू गर्यौ । हाम्रो मायाप्रेमको डोरी बाटिदै थियो। हासखेल गर्दा गर्दै १२ को अन्तिम परीक्षा पनि सकिएछ । अब केही समय बिदा हुने भयो । मैले उसलाई बुबाको फोनबाट नै बिदामा भेट्ने प्लान सुनाएँ । उसले पनि स्वीकार गरी ।
राती मैले भोलिको लागि तयारी पनि गर्दै थिएँ। यसोउसो गर्दा थकाइ लाग्यो । लोटामा पानी थियो पिउन के खोजेको थिएँ एक्कासी लोटा हातबाट चिप्लिएर भुइँमा झर्यो । धन्न लोटा स्टिलको थियो फुेटन। फेरि बाहिर गएर पानी भनेर ल्याए र पिएँ । आफ्नै ढङ्गलाई गाली गर्दै सुतेँ ।
भोलिपल्ट,
गर्मी महिना थियो र पनि बिहान अलि जाडो नै हुन्थ्यो । जाडो पनि मिठो जाडो । त्यसैले ओछ्यानमा सुतेको सुतै भएछु । ममीले जोडले बाबु भनेर बोलाएपछि आँखा मिच्दै उठेँ। किन बोलाएको होला सुत्न नदिएर भन्ने लाग्यो। कति मिठो निद्रा लागिराको थियो। घडी हेरेको ७ बजिसकेछ। ओहो ! ममीले त सुत्न दिनु भाकै रहेछ । धेरै बेर पो सुतिएछ त । हिजो तय गरे अनुसार घुम्न जाने प्लान थियो। कस्तो बिर्सिएछु । किन भुलक्कड भाको होला म आजभोलि आफैंलाई गाली गरेँ कतिखेर जाने सोध्न उसलाई फोन गरेँ । उसले फोन उठाइन । फेरि दोहोर्याएर गरेँ फेरि पनि उठाइन। कता कता मनमा डर डर लागे जस्तो भयो। टेक्स पठाएँ । “किन फोन नउठाको ? फोन उठाउन ।“ फेरि फोन गरेँ । अहँ यो पटक पनि उठेन । त्यतिबेला मेरो मुख कालो निलो भएको थियो। के गरूँ कसो गरूँ भैरहेको थियो। एकछिन खाटमा पल्टिएर बसेँ ।
एकछिन पछि एउटा म्यासेज आयो । “ केदार ! सुन न म …. हे…हेर न म आज आउन नपाउने भए । घरमा काम पर्यो । सरी ल । “
एकछिन म ट्वाँ परे।
साह्रै गाह्रो भयो मलाई त्यतिबेला । झनक्क रिस उठ्यो। के काम पर्छ आज एक्कासी। मनमनै बोलेँ । यतिका समयपछि भेट गर्ने प्लान बनेको थियो तर …….। आजै भनेर काम हुनुपर्ने उफ्….। साह्रै गर्मी भयो मलाई। प्लान जति सबै ढलान भए। ठोस। त्यसदिन देखि मैले कति प्रयास गरे फोन लाग्दै लागेन । म्यासेजको पनि रिप्लाई आएन।
के भयो किन भयो ? म अन्योलमा परेँ । फोन बिग्रेर हो कि भन्ने लाग्यो । तर फोन बिग्रेको हो भने पनि यति दिनसम्म त उसले थाहा दिन अर्कै नम्बरबाट पनि त गर्न सक्थी किन गरिन। अचम्ममा परे । सत्य त्यसदिन देखि मैले कहिले भेटिन । ऊ बाग्लुङ पनि कहिल्यै फर्केर आइन। आकाशमा हवाइजहाज सानो सानो हुँदै बिलाएझै उ कतै देखिन । मैले मनको बाइनाकुलरबाट नियालिरहेँ तर उसले यो मनको एयरपोर्टमा कहिल्यै ल्याण्ड गरिन। अह उसको बारेमा केही थाहा भएन। म त्यतिबेला कस्तो हालतमा थिए आज सम्झिदा पनि आँखा रसाएर आउँछ। मुटु भक्कानिएर आउँछ। एउटा ठुलो ढुङ्गा यो छातिमा बजारिएझै लाग्छ। म आफुलाई सम्हाल्नै सक्दिन रून पुग्छु । त्यति प्यारो माया आज कता बिलायो ? उसले अङ्गालेको , बोलेको सारा घटना यो मनमा अझै ताजै छ। माया किन अजम्बरी भएन ?
मलाई नबिर्सनु भनेकी थिई तर उसले नै मलाई कसरी बिर्सी होला ? “ यति भनेर केदारले लामो सास फेर्यो। उसका आँखा राता भएका थिए। अगाडिको टेबुलमा भएको पानी दिए मैले ।उसले विस्तारै समातेर पियो।
पछि थाहा पाए उसले भनेपछि । उसले फेसबुक बनाएकी छिन् कि भनेर खोज्दै रहेछ । धेरै प्रयास पछि ऊ सफल भएको रहेछ। यताउता नाता गोताको फ्रेन्ड हेर्दै पत्ता लगाएको रहेछ। उनले फेसबुक अकाउण्ट खोलेकी रहिछिन्। आज त्यही मोबाइलमा उनले प्रोफाइलमा उसले नै खिचिदिएको फोटो हालेको रहिछन् सुरूमा त ऊ खुसी भएकै हो तर ……….
तल हेर्दै जाँदा उनको बिहे भइसकेको फोटो पनि रहेछ । उसले कल्पनामै नगरेको घटना घटेछ। ऊ साह्रै मर्माहत भएको थियो त्यतिबेला त्यसैले त्यसरी रोएको रहेछ । उसलाई के भनेर सम्झाऊँ जस्तो भयो मलाई। केही भन्नै सकिन त्यसपछि मैले। मैले त्यो दिन सम्झिएँ । घुम्न जाने भनेको दिन उनलाई केटा हेर्न आएको हुनुपर्छ र छिट्टै बिहे पनि र भएछ क्यारे त्यसपछि उनीहरू बिच कुरा भएन। भेट भएन । माया रहेन। आज ऊ एक्लो भएको छ । साह्रै रोयो ऊ । यसरी ऊ रोएको मैले योभन्दा अघि कहिल्यै देखेको थिइनँ । उसले कससरी केदारलाई छोडेर बिहे गर्न सकी होला ? किन त्यति चोखो मायालाई भुली होला ? के चोखो मायाको उपहार यही हो ? एकपटक मलाई भगाऊ भनेको भए पनि त केदारले भगाएर बिहे गर्थ्यो होला। अथवा माग्न बोलाको भएपनि त केदार आ उथ्यो होला तर केही नभनी थाहै नदिई एक्कासी कसरी बिहे जस्तो कुराको निर्णय लिन सकिन होला ?के साच्चै उनले केदारलाई भुल्न सकेकी थिइन् होला त ! यो प्रश्न मनमा खेलाउँदा खेलाउँदा मेरो आँखा पनि रसाएछ । उता कोठामा छिरेको केदारको रूवाइ भने मैले यही कोठासम्म सुनिरहेको थिएँ। ऊ डाको छोडेर रूदै थियो ।
रचना- राजप्रणय
खैरहनी नगरपालिका १३, चितवन