विशन क्षेत्री पर्वत २०७४ साउन १९ । रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साईकल यात्रामा निस्केका पर्वत फलेवास नगरपालिका ११ पाङ्गराङ्गका भेषराज कँडेल र झापा कन्काईका युवराज मैनाली जापान पुगेका छन् ।
‘रक्तदान, जीवनदान’ मन्त्र बोकेर साईकल यात्रामा निस्किएका दुई युवा १५ देशको यात्रा पछि १६ औ देशको रुपमा जापान पुगेका हुन् । विश्वलाई रक्तदानको सन्देश दिने उद्धेश्यले सात महिना अघि यात्रा सुरु गरेका कँडेल र मैनालीले रगतको अभावमा विश्वमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने सन्देश फैलाउन आफूहरुले साईकल यात्रा थालेको र यस क्रममा नेपालको सगरमाथा र गौतमबुद्धको बारेमा समेत जानकारी प्रचार गर्दै हिँडेको बताए ।
साइकल यात्रीहरुले नेपालबाट थालेको यात्रा श्रीलंका, भारत, बंगलादेश, माल्दीभ्स, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाईल्याड, मलेसिया, सिंगापुर, ब्रुनाई, इन्डोनेसिया, फिलिपिन्स, ताईवान पश्चात जापान आईपुगेको बताए ।
जापानको यात्रापछि दक्षिण कोरियाको यात्रामा निक्लन लागेका साइकल यात्रीहरुले आफूहरु पुगेको देशमा विभिन्न संघसंस्था सहित गैरआवासिय नेपाली संघठन र व्यक्तिहरुले सहयोग गरेको स्मरण गरे ।
थुप्रैपटक रक्तदान गरिसकेका उनीहरुले रक्तदान गर्दा कमजोर हुन्छ भन्ने भ्रम हरेक देशमा रहेको पाइएको भन्दै यस्तो भ्रम चिर्नका लागि समेत विश्व साईकल यात्रा फलदायी हुने विश्वास व्यक्त गरे ।
५ वर्षमा १ सय ५० दैशको यात्रा गर्ने लक्ष्य सहित साईकल यात्रीहरुले यात्राका क्रममा बुद्धको देशमा भ्रमणका लागि निम्ता दिएको र देशको पर्यटन प्रद्धनमा समेत टेवा पुगोस भन्ने उदेश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश घुम्न सन्देश फैलाउने काम गरिरहेको बताए ।
रक्तदानको महत्वको प्रचारकै क्रममा जापान पुगेका उनीहरुलाई फुकुओका नेपाल सोसाईटीले तीस हजार येन आर्थिक सहयोग गरेको छ । उनीहरुलाई सोसाईटीका अध्यक्ष पुरुषोत्तम सिग्देल र वरिष्ठ उपाध्यक्ष नविन अधिकारीले आर्थिक सहयोग संयुक्त रुपमा हस्तान्तरण तथा स्वागत सम्मान गरेका थिए । सोसाईटीका सल्लाहकार रामकृष्ण श्रेष्ठ सहित पुरुषोत्तम सिग्देल, नविन अधिकारी, शिव शर्मा, धर्म महर्जन, निरोध हुमागाईं, दिनेश रिमाल, गोविन्द रेग्मी, सुजन केसी लगायतले व्यक्तिगत रुपमा जम्मा गरेको १८ हजार येन र संस्थाले १२ हजार येन सहयोग गरेको थियो ।
कँडेल र मैनालीले सकारात्मक सन्देश फैलाउँदै नेपालको नाम विश्वभर प्रचार गराउने राम्रो काममा लागेको भन्दै सबैसँग सहयोग गर्न सोसाईटीले अनुरोध समेत गरेको छ ।