सुमन सुनार, बुर्तिवाङ २०७४ साउन २५ । यस वर्ष पनि वर्षा लागेसँगै बागलुङ जिल्लाका ग्रामीण क्षेत्रमा पर्ने अधिकांस सडकहरु अवरुद्ध बनेका छन् । त्यससँगै यातायातका साधनहरु अवरुद्ध हुँदा स्थानीयलाई समस्या परेको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ देखी हुन्द्राफेदी हुदै बोंगादोभान तथा खुंगा हुदै तमान, लाम्मेला संगै लुकुरवन जोडने सडक खण्डमा ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध बन्दै आएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ४ बान्देविसौना देखि केहि पर ढुंगाखस्ने भन्ने स्थानमा गएराती खहरे खोला संगै आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । उक्त स्थानमा गत साउन १७ गते पनि पहिरोकै कारण सडक अवरुद्ध बनेको थियो ।
ढोरपाटन नगरपालिकाले मंगलबारमात्र उक्त स्थानमा डोजर लगाएर पहिरो हटाएको थियो । तर गएराति सोही स्थानमा फेरी पहिरो झर्दा सडक पुन अवरुद्ध बनेको सवारी चालक मिना बुढा मगरले बताए ।
सवारी चालक बुढाका अनुसार उक्त स्थानमा विगत एक महिना देखि वर्षाका कारण निरन्तर रुपमा पहिरो झर्दै आएको छ । पहिराले अवरुद्ध बन्दै आएको सडक, सवारी चालक तथा केहि स्थानियको सक्रियतामा समान्य रुपमा पहिरो पन्छ्याउदै सवारी साधन सञ्चालन गरिदै आईएको छ । यसरी निरन्तर रुपमा झरी रहने पहिरोले यात्रुहरुले सास्ती भोग्नु त परेको छ । उता नियमित रुपमा सडक मर्मत गर्नु पर्दा सवारी चालक तथा स्थानियहरुले निकै हैरानी बेहोर्नु परेको सवारी चालक बुढाको भनाई छ ।
यस्तै नगरपालिकाको वडा नं. ४ हुन्द्राफेदीमा पनि लुकुरवन खोलाको बहाव बढेका कारण सवारी साधन वारपार गर्न नसक्दा यात्रुहरुलाई सवारी परिवर्तन गर्नुपर्ने अवस्था छ । जसले गर्दा यात्रुहरुलाई पैदल हिड्नु पर्ने अवस्था छ । बोंगादोभान सडक खण्ड अन्तर्गत भालुबाङ भन्ने स्थानमा विगत एक महिना यता सडक खण्डमा पहिरोले सडक अवरुद्ध पारेको छ । जसले गर्दा बोंगादोभान क्षेत्रका नागरिकलाई घण्टौ सम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
यस्तै ढोरपाटन नगरपालिका वडा नं. ४ अर्थात साविक खुंगा गाँउ विकास समिति वडा नं. ६ लुकुरबनको छपाते भन्ने स्थानमा पनि गएराती खहरे खोलासंगै झरेको पहिरोका कारण लुकुरवन सडकखण्ड पनि अवरुद्ध बनेको छ । पहिरोका कारण उक्त स्थानमा खोला संगैको पहिरोले ठुलो खाल्डो परेकाले तुरुन्तै मर्मत गर्न सकिने अवस्था नरहेको स्थानिय बासिन्दा सागर सुनारले बताएका छन् । पहिरोले सडक अवरुद्ध हुदा वडा नं. ४ लुकुरबन क्षेत्रका नागरिकहरु प्रत्यक्ष प्रभावित बनेका छन ।
यसरी ठाँउ ठाँउमा बाढि पहिरोका कारण सडक अवरुद्ध हुदा ढोरपाटन नगरपालिका वडा नं. ४ को खुंगा, छोरेगाँउ लुकुरबन तथा तमानखोला गाँउपालिका अन्तर्गतका बोंगादोभान, खोलेसबाङ, रिक्लाङ, सौला, बोंगाखानी, खुंखानी लगायतका स्थानिय जनतालाई आवतजावत गर्न, उपभोग्य समान, निर्माण समाग्री धुवानी गर्न र कृषीजन्य बस्तु उत्पादन निकासी गर्न समस्या हुने गरेको छ ।