बागलुङ २०७४ साउन २९ । अबिरल वर्षाका कारण मुलुक जलमग्न छ । मुलुकको विभिन्न भागहरु डुवानमा परेका छन् । दर्जनौ नेपालीको ज्यान गएको छ । बाढी पहिरोले राजमार्गहरु भत्किएका छन् । हजारौ यात्रुहरु र हजारौँ सवारी साधनहरु अलपत्र परेका छन् । कतिबेला कुन ठाउँमा के दैवी बिपत्ती आईलाग्छ भन्ने सन्त्रासमा आम नेपाली रहेका छन् । सरकारी तथ्याङ्क अनुसार आइतबार बिहान विभिन्न ठाउँमा गरी ३६ जनाको ज्यान गएको छ। यस्तै करिब एक दर्जन हराइरहेका छन्। मुलुकभर जनजीवन अस्तव्यस्त छ ।
सन्चार माध्यमहरु यिनै आपद बिपदका समाचारहरुले भरिएका छन् । अहिले विहान मात्र महेन्द्र राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ । उता महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिएपछी ४२ घण्टा देखी यातायात ठप्प छ । जाममा परेका यात्रुहरु भोक भोकै बसेको अवस्था छ । अबिरल वर्षाका कारण सौराह पर्यटकीय क्षेत्र डुवानमाा परेको छ । ७ सय पर्यटकहरु फसेका छन् ।
पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग डुबानमा परेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई अन्धकार बनेको छ ।
पश्चिम बबई नदीमा बाढी आउनाले बर्दिया सदरमुकाम डुवेको छ । रौतहटमा सुत्केरी गराउन विरामीलाई लिएर गएको जीप बाढीले बगाउदा त्यसमा सवार ६ जनाको ज्यान गएको छ भने आजै मकवानपुर जिल्लाको बकैयामा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । बाढीले महोत्तरी जिल्लाका दश प्रहरी युनिट ढुवानमा परेका छन् । बाँकेमा बाढी गाउँमा पस्दा ८ सय घर डुवानमा परेका छन् । सयौँको संख्यामा घरपरिवारको बिचल्ली छ । दाङमा बाढीले बगाउदा २ जनाको ज्यान गएको छ भने १ सय ४१ घर ढुवानमा रहेका छन भने ३ सय २० भन्दा घरपरिवार बिस्थापित भएका छन् । दाङका १० बढी स्थान डुवानमा रहेका छन् ।
यता बागलुङ जिल्लामा बाढी पहिरोका कारण आधा दर्जन भन्दा बढीको ज्यान गएको छ भने ग्रामीण सडकहरु अबरुद्ध बनेको छ । निसीखोला गाउपालिकाको हुल्दी गाउँनै पहिरोले विस्थापित बनेको छ । अहिले विहान पौने ९ बजेको समयमा बागलुङ नगरपालिका २ रुद्रेपिपलमा अध्यधिक वर्षाका कारण दुर्गाकाजी शाक्यको घर भत्किएको छ । छिमेकी जिल्ला म्याग्दी, गुल्मी र पर्वतमा पनि अबिरल वर्षा र पहिरोले ठुलो क्षेति पुराएको छ ।
निरन्तरको वर्षा संगै विनासका समाचार आउने क्रम जारी छ ।