बागलुङ, २०७४ भदौ ७ । बागलुङमा क्रियाशिल विभिन्न क्लबमा आबद्ध युवायुवतीहरुले संकलन गरेको राहत रकम महोत्तरी र सुनसरीका बाढी पीडितहरुको घरमै गएर वितरण गरेका छन् । बागलुङमा संकलन गरेको रकमबाट महोत्तरी जिल्लाको पिप्रा गाउँपालिका वडा नं. १ बन्टोलाका बाढी पीडितलाई राहत उपलब्ध गराइएको हो ।
बाढी पीडितहरुलाई खाद्यान्न, पाल, मछ्डदानी, तन्ना लगायतका सामग्री वितरण गरिएको टोलीका सदस्य रोशन जिसीबाट जानकारी प्राप्त भएको छ । ।
बाढीबाट पीडित जनताको उद्धारका लागि राज्यका विभिन्न तहदेखि सरकारी तथा गैर सरकारी र सहकारी क्षेत्र समेत उद्धार जुटेको अवस्थामा बागलुङका युवाहरुले पनि राहत संकलन गरेर सम्बन्धित क्षेत्रमै पुगेर राहत वितरण गरेका हुन् ।
बागलुङमा संकलित रकम, लत्ताकपडा र खाद्य सामाग्रीहरु बाढी पीडितहरुलाई नै प्रदान गर्नका लागि स्वास्थ्यकर्मी सहितको टोली सोमबार महोत्तरी प्रस्थान गरेका थियो ।
बागलुङे युवाहरुले १ लाख ३७ हजार ९ सय ६५ रुपैया संकलन गरेका थिए । महोत्तरीका बाढी पीडितलाई ८० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको विजय गौतमले बताए ।
यसैबीच टोलीले बुधवार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १४ एकम्बा गाउँमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । सिद्धी स्मृति प्रतिस्ठान, आयोन, द्रुत स्वयंसेवक संस्थाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १ सय १० जनाको स्वास्थ्य परिक्षणका साथै ९० हजार बराबरको औषधी वितरण गरिएको स्वास्थ्यकर्मी सिर्जना खड्काले जानकारी दिई ।
टोलीमा रोशन जिसी, प्रतिमा पुन, सिर्जना खड्का, सन्ध्या जिसी, विजय गौतम, इश्वर ढकाल र निसा पुन रहेका थिए ।