Sorry, that menu does not exist.
 

पोर्चुगल र दक्षिण कोरियाका नेपालीव्दारा निसी र ढोनपाका पहिरो पीडितलाई राहत वितरण

प्रशान्त घर्ति मगर, बुर्तिवाङ २०७४ भदौ १२ । गत साउन २० गते पश्चिम बागलुङको भिन्नाभिन्नै स्थानमा खसेको पहिरोमा परि ज्यान गुमाउने मृतक परिवारका सदस्यलाई हिजो राहत वितरण गरिएको छ ।

पहिरोमा परि ज्यान गुमाउने निसीखोला गाउँपालिका—२, बाहुनगाउँका मनिमान छन्त्याल सहित ४ जनाको परिवार, तथा निसिखोला गाउँपालिका—१, हुल्दीकी खगिसरा सिञ्जाली र ढोरपाटन नगरपालिका—५, पाखापानीका ओमप्रकाश कामीको परिवारका सदस्यलाई पोर्चुगल र दक्षिण कोरियामा संकलन गरिएको राहत रकम वितरण गरिएको हो ।

निसीखोला गाउँपालिकाको जुग्जाखोलामा सम्पन्न राहत वितरण कार्यक्रममा ढोरपाटन—बुर्तिबाङ स्पोर्टस ग्रुप, पोर्चुगलका संयोजक झकास भण्डारीसहितको टोलीले संकलन गरेको रकमले मृतक ६ जनाको परिवारलाई जनही ११ हजार १९० का दरले कुल ६७ हजार १४० रुपैयाँ वितरण गरिएको छ । राहत रकम मृतक मनिमान छन्त्यालका छोरा मनबहादुर छन्त्याल र मृतक खगिसरा सिञ्जालीका छोरा लालबहादुर सिञ्जालीलाई वितरण गरिएको थियो । यता ढोरपाटन नगरपालिका वडा नं. ५ पाखापानीका ओमप्रकास कामीका भाई गुञ्जमान कामीलाई पनि ११ हजार १ सय ९० रुपैयाँ राहत रकम हिजै हस्तान्तरण गरिएको छ ।

त्यस्तै निसीखोला गाउँपालिकाबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले संकलन गरेको रु ६७ हजार २०० पनि हिजै वितरण गरिएको छ । मृतकका परिवारलाई ४ हजारका दरले र घर पूर्ण रुपमा क्षती भई विस्थापित भएका हुल्दीका २३ घरपरिवारलाई प्रतिपरिवार १ हजार ८ सयका दरले राहत रकम उपलब्ध गराएको छ ।

उता, नेपाली कंग्रेस क्षेत्रीय समितिले पनि पहिराले ज्यान गुमाएका परिवारलाई जनही ३ हजारको दरले राहत रकम उपलब्ध गराएको छ । पहिरोले ज्यान गुमाएका निसीखोला गाउँपालिका—१ र २ का पाँच जनाका परिवारका सदस्यहरु तथा ढोरपाटन नगरपालिका वडा नं. ५ का १ मृतक परिवारका आफन्तलाई उक्त राहत रकम उपलब्ध गराइएको नेपाली कंग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए ।

गत साउन २० को भीषण पहिराले निसीखोला गाउँपालिका—२, बाहुनगाउँमा बर्ष ६६ का मनिमान छन्याल, उनकी श्रीमति वर्ष ६३ की नन्दकली छन्त्याल, बुहारी २२ बर्षिया बिन्दु छन्त्याल र छोरी १८ बर्षिया गिता छन्त्यालको ज्यान गएको थियो । त्यस्तै, निसीखोला गाउँपालिका—१, हुल्दीकी ७५ बर्षिया खगिसरा सिञ्जाली र ढोरपाटन नगरपालिका—५, पाखापानीका ५४ बर्षिय ओमप्रकाश कामीको पनि ज्यान गएको थियो ।

राहत वितरण कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, वडा नं. १ का अध्यक्ष इन्द्रबहादुर मल्ल, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा, नेपाली कंग्रेसका क्षेत्रीय सभापति द्रोण कुँवर, ढोरपाटन—बुर्तिबाङ स्पोर्टस ग्रुप, पोर्चुगलका नेपालका तर्फबाट प्रतिनीधिका रुपमा खडक कुँवरको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply