कोपिला कंडेल, बागलुङ २०७४ भदौ १५ । नव आगन्तुक प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जिल्लामा सशासन र शान्ति सुरक्षा कायम गर्नका लागि कसैसंग सम्झौता नगर्ने बताएका छन् । हिँजो मात्रै बर्दियाबाट सरुवा भएर बागलुङ आएका प्रमुख जिल्ला अधिकारी थापाले आज जिल्लामा क्रियाशील पत्रकार संग भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
उनले आम नागरिकलाई छिटो छरितो सेवा प्रवाह एबं बिकास निर्माण र शान्ति सुरक्षाका सवालमा कसैको दबाब र प्रभाव बिना कार्य गर्ने दाबी गरे । मेरो पहिलो प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु हुन्छ प्रमुख जिल्ला अधिकारी थापाले भने– जिल्लाको बिकास निर्माण र राष्ट्रिय गौरबका आयोजनालाई अगाडी बढाउनका लागि सबैसंग सहकार्य र समन्वय गर्नेछु । उनले जिल्लाका बाढी पहिरो लगायत प्राकृतिक बिपत्तिबाट पीडित समुदायको उद्धार तथा राहत वितरणका लागि आफ्नो तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने बताए ।
जिल्लामा कालोबजारी बढ्दै गएको एबं अखाद्य पदार्थको बिक्रि वितरण हुने गरेको भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी थापाले बजार अनुगमनलाई निरन्तर क्रियाशील बनाउने दोषी ठहरिएकालाई कानुन बमोजिम कारबाही गर्ने बताए । उनले निर्वाचनका सन्दर्भमा हुने गम्भीर आचारसंहिता उल्लंघनका दोषीलाई छुट नदिने धारणा समेत ब्यक्त गरे ।
सो अवसरमा जिल्लामा पत्रकारिताको अवस्था बारे पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिषले जानकारी गराएका थिए । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले गरेका थिए ।