कोपिला कंडेल, बागलुङ २०७३ माघ ८ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपकपा (माआवादी) का स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राष्ट्रियताको हित बिपरित भएको बताएका छन् ।
नेकपा (माओवादी) बागलुङको नवौ जिल्ला अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै नेता ओलीले प्रचण्ड नेतृत्वको सरकार बिदेशीको ईशारामा बनेकाले कुनैपनि जनपक्षिय काम गर्न नसकेको आरोप लगाए । वर्तमान सरकार राष्ट्रियताको हित बिपरित बनेको भन्दै उनले राष्ट्रबादी शक्तिहरु एकहुनुपर्ने बताए ।
माओवादी नेता ओलीले आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई सरकारले पटक पटक दमन गर्ने गरेको चर्चागर्दै अबपनि दमन गरे हतियार उठाउने चेतावनी दिए ।
भ्रष्टाचार, महंङ्गी, लिपुलेक सम्झौता लगायतका राष्ट्रियता र जनहित बिपरित हुने कुनैपनि गतिबिधी आफुहरुलाई मान्य नहुने चर्चा गर्दै नेता वलीले प्रचण्ड सरकार राष्ट्रियताको हित बिपरित बनेको आरोप समेत लगाए ।
वर्गीय लडाईमा प्रचण्ड र बाबुरामले धोका दिएको बताउदै ‘नेपाली जनताको क्रान्ति जीत नजिक थियो, तर बीचमा प्रचण्ड र बाबुराम दलाल बनेर देश र जनताको सपनामाथी गद्दारी गरे । ‘हिजो हामीले प्रचण्डलाई श्रद्धये नेता भनेर सम्बोधन गथ्र्यौं, अहिले दलाल नेता भनेर सम्बोधन गर्नु परेको छ,’ उनले भने ।
सो अवसरमा नेकपा माओबादीका केन्द्रिय सदस्य एबं नारायणी अंचल ईन्चार्ज चिरन पुन, केन्द्रिय सदस्य एबं धौलागिरी अंचल ईन्चार्ज पारसमणी, केन्द्रिय सदस्य द्धय टेक बहादुर केसी आजाद, बिप्लव, अनेम सघं क्रान्तिकारीका जिल्ला संयोजक उषा घर्ति मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अधिवेशनले नयां नेतृत्व चयन गर्ने बिप्लव माओबादीले जनाएको छ । कार्यंक्रममा सामना सांस्कृति परिवारको सांस्कृतिक प्रस्तु्ति रहेको थियो ।
कार्यक्रम नेकपा माओबादीका जिल्ला सेक्रेटरी बिकिरणको अध्यक्षता, सदस्य बाबुलाल शाक्यको स्वागत मन्तब्य र जिल्ला सचिवालय सदस्य छम सेनको संचालनमा सम्पन्न भएको थियो ।