आगामी शैक्षिक शत्रदेखि नगरका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाईने !
राम सुवेदी, बुर्तिवाङ २०७४ भदौ २२ । ढोरपाटन नगरपालिकाको आयोजनामा बिहीवार नगरपालिका अन्तरगतका ४२ विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । नगर प्रमुख देवकुमार नेपालीको अध्यक्षतामा सुरु भएको बैठकले नगरपालिकाका सबै सरकारी विद्यालयमा आगामी शैक्षिक शत्रदेखि अनिवार्य अंग्रेजी माध्यमबाट शिक्षण सुरु गर्ने बैठकमा निर्णय गरिएको छ ।
नगर भित्र रहेको विद्यालयका प्रधानाध्यापकहरुले उक्त बैठकमा आफ्नो विद्यालयको भौतिक, शैक्षिक र वित्तिय अवस्था, र्शक्षिक सुधार योजना, शिक्ष विद्यार्थी नियमितता एवं अनुशासन, विद्यालय व्यवस्थापन समितिको अवस्था र क्रियाशीलता, विद्यालयमा कम्प्युटर शिक्षा र अंग्रेजी माध्यममा शिक्षण अवस्थाका विषयमा रिपोर्टिङ गरिएको थियो ।
नगरपालिका भित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुको रिपोर्ट अनुसार विद्यालयहरु भौतिक पूर्वाधारमा समस्या भोग्दै आएको, विद्यालय भवन नभएका कारण बहुकक्षा शिक्षण गराई पढाई सञ्चालन गरिरहेको, अधिकाँस विद्यालयमा दरवन्दी अनुसारको शिक्षकहरुको व्यवस्थापन नभएको, स्थानीय जनताले आफ्नै स्रोत र साधनबाट तलव खुवाई शिक्षकको व्यवस्थापन गर्दा समस्यामा परेको, विद्यालयमा कम्प्युटर ल्याब भएपनि दक्ष शिक्षको अभाव, इन्टरनेट सुविधा नहुँदा आएका जटिलताहरु, अंग्रेजी माध्यमबाट शिक्षण सुरु गरेका विद्यालयले समेत विभिन्न समस्या भोग्दै आएपछि अहिले नेपाली माध्यमबाटै पठनपाठन हुँदै आएको र शैक्षिक गुणस्तर वृधिमा अभिभावक, शिक्षक र विद्यार्थी बीचको त्रिकोणत्मक संबन्ध स्थापित गर्न नसकेको, विभिन्न विद्यालयमा व्यवस्थापन समितिनै विवादमा रहेकाले शैक्षिक प्रगति गर्न नसकेका कुराहरु आएका छन् ।
बैठककै अवसरमा उत्तरगंगा स्रोत केन्द्रका स्रोत व्यक्ति हरिचन पाण्डेले, राज्यले निर्धारण गरेको न्यूनतम शैक्षिक मापदण्ड अनुसारको भौतिक व्यवस्थापनमा कक्षा १ देखि ३ सम्मका लागि ६ कोठा हुनु पर्ने, कक्षा ५ सम्मका लागि ८ कोठा, कक्षा ८ सम्मका लागि न्यूनतम १२ कोठा, कक्षा १० सम्मका लागि १८ कोठा र कक्षा १२ सम्मका लागि न्यूनतम २२ कोठा हुनुपर्ने भनिएपनि अहिलेसम्म नगरका कुनैपनि विद्यालयमा न्यूनतम मापदण्ड अनुसारको भौतिक संरचना नभएको भन्दैसुधारका लागि योजना बनाउने र लाग्ने हो भने संभव नहुने केही नभएको भन्दै पाण्डेले नेतृत्व राम्रो र इमान्दार भएमात्र अहिलेको शिक्षामा सुधार ल्याउन सकिने स्पष्ट पारे । त्यसका लागि पहिलो शर्त विद्यालयका प्रधानाध्यापकहरु नै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने, योजना बनाउन सक्ने र व्यवस्थापन समितिलाई गतिशिल बनाउन सक्ने हुनु जरुरी रहेको उनको भनाई थियो ।
अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा स्रोत व्यक्तिहरुको आ—आफ्नो भनाई पछि, शैक्षिक सुधारका विषयमा आफ्ना कुरा राख्दै नगर प्रमुख नेपालीले, आजको युग अनुसारको शिक्षा अबका बालबालिकालाई दिन नसक्ने हो भने भोलि कस्तो जनशक्ति उत्पादन गरौंला भनी सबैलाई सचेत भएर नगरपालिकाको पहिलो प्राथमिकता शैक्षिक सुधार नै भएको भन्नै सबैले यसका हातेमालो गर्न आग्रह गरेका थिए ।
अनिवार्य अंगे्जी माध्यमबाट बालबालिकालाई शिक्षण गराउनुपर्ने, कम्प्युटर ल्याबलाई व्यवस्थित गरि कम्प्युटर शिक्षा दिलाईनु पर्ने , शिक्षकहरुका लागि आवश्यक तालिम, व्यवस्थापनका लागि विज्ञ टोली लिएर परामर्श, तालिम तथा सेमिनारको आयोजना नगरपालिकाले गर्न तयार रहेको नेपालीले प्रअहरु समक्ष प्रतिवद्धता जनाएका थिए ।
भौतिक पूर्वाधार नभएका स्थानहरुका पूर्वाधार निर्माण गर्दै, नगरपालिकाका सबै सरकारी शिक्षण संस्था अव क्रियाशील भएर एक्काईसौं शताव्दीले मागेका जनशक्ति निर्माणमा योजना सहित लाग्न नगर प्रमुख नेपालीले जोड दिए ।
नगर प्रमुखको भनाई पछि विद्यालयका प्रधानाध्यापकहरुले नगरपालिकाले विद्यालयमा परेका समस्याहरुको हल गर्न पहल गर्ने र शैक्षिक सुधारमा योजना बनाए आफूहरुले त्यसमा साथ दिने भन्दै, आगामी शैक्षिक शत्रबाट नगरपालिकामा पहिलो वर्ष कक्षा १ बाट अनिवार्य अंग्रेजी माध्यमबाट शिक्षण सुरु गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा चुस्त दुरस्त विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापकहरुको इमान्दार प्रशासन सञ्चालन, अभिभावक, शैक्षिक व्यत्तित्व, राजनैतिक दलका प्रतिनिधि र विद्यार्थी जागरुक भएर वर्तमान शैक्षिक सुधारको दायित्व लिनुपर्नेमा सबैले प्रतिवद्धता जनाएका छन् ।
आयोजित कार्यक्रममा नगरपालिकाका उपप्रमुख करमती पुन , विभिन्न वडाका वडा अध्यक्ष, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बैठक तथा अन्तरक्रिया कार्यक्रमको नगरपालिकाका कार्यकारी अधिकृत राम प्रसाद आचार्यले सहजीकरण गरेका थिए ।