तस्वीर, तत्कालीन अवस्थाको इतिहास हो । तस्वीरले विगतलाई बताउछ । त्यसैले भन्ने गरिन्छ, तस्वीर आफै बोल्छ । यसकारण तस्वीर तत्कालीन अवस्थाको ‘चश्मदीद’ प्रमाण पनि हो भन्नु अत्यक्ति नहोला ।
पाठकहरु समक्ष यहाँ बागलुङ (बजार) का केहि पुराना, केहि नयाँ तस्वीरहरु प्रस्तुत गर्नुको तात्पर्य पाठकहरुलाई झण्डै ६० वर्ष पहिलेको बागलुङ र हालको बागलुङको क्रमिक विस्तार, विकास र निकासलाई तुलनात्मक अध्ययन गर्न सजिलो होस भन्ने हो ।
पहिले बागलुङ (बजार)मा खासै मानव वस्ती थिएन । कालीगण्डकी र काठे खोलाको संगम माथीको यस समथर भूभागलाई पहिले एकमुष्ट हिसाबले बागलुङचौरको नामले पुकारिन्थ्यो । यस आसपासका सबै समथर भूभागलाई बाँगेचौर, उपल्लाचौर, ओडारचौर, कुँडुलेचौर आदि नामबाट पुकारिन्थ्यो जुन अहिले सम्म कायमै छ । झण्डै तीन सय वर्ष पहिले प्रकाशित विश्व मानचित्रहरुमा पनि यस भूभागलाई बागलुङचौर भनेर उल्लेख गरिएको छ ।
बिसं १५९० को हाराहरीमा बाँगेचौरमा कालिका देवीको मन्दिर स्थापना पछी नै बागलुङचौरमा शनै: शनै: मानववस्ती बढ्दै गएर कालान्तरमा बागलुङचौर, बागलुङ बजारमा रुपान्तरित भएको हो ।
यसमा शंका छैन कि,पवित्र कालीगण्डकी किनारमा रहेको सदरमुकाम बागलुङ बजार, जहाँ धार्मिक आस्थाकी प्रतिमुर्ती प्रशिद्ध कालिका देवी बिराजमान छिन् । उनै कालिका भगवती देवीका प्रतापले बागलुङको प्रशिद्धी दिन गुना रात चौगुना हिसावले बढिरहेको छ ।
अहिले जहाँ जिल्ला प्रशासन कार्यालय छ, त्यो नै बागलुङको पहिले देखीकै प्रशासनिक अड्डा हो । पहिले माल, औषधालय, पुलिस थाना, छोटी गौँडा, गौँडा हुँदै अन्चलाधीश कार्यालय र हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँ हो । यस ठाउँलाई पछीसम्मपनि ‘टक्सार’ भनि पुकारिन्थ्यो । अहिले बुद्धचोक भनिने गरिन्छ । विभिन्न सभा, समारोह, महोत्सव टक्सारमै हुन्थे ।
तस्वीरमा बागलुङको पहिलो स्कूल ‘भाषा पाठशाला (सानो भवन) र आडैको ठुलो भवनमा आकाशवाणी कार्यालय र त्यस्को छेउमै कारागार थियो । २०१७/१८ सालको यस तस्वीरमा टक्सारमा आयोजना हुने त्यसबखतका कार्यक्रममा सहभागी हुन आएका विद्यार्थीहरु बसेका छन ।
विभिन्न खेलकूदहरुपनि यसै टक्सारमा आयोजना गरिन्थ्यो । यस स्थानमा अहिले रेडक्रस र जिल्ला प्रशासन कार्यालयको भवन ठडिएका छन् । प्रस्तुत तस्वीर २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको हो ।
२०१७/१८ साल तिर जुलुसले बजार परिक्रमागर्दा हालको महेन्द्र पथको तल रहेको पुरानो शहरबाटोबाट मरेपिपल सम्मजाने आउने गरिन्थ्यो ।
बागलुङका पुराना र महत्वपूर्ण तस्वीरहरु धेरैसंग हुन सक्छन् । त्यस्को सोधखोज जारी राख्दै हालसम्म हामीलाई प्राप्त केहि चुनिएका तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ताकि सदरमुकाम बागलुङको तुलनात्मक अध्ययन गर्न सजिलो होस् ।
यो तस्वीर २०१५ साल तिर खिचिएको बागलुङको प्राप्त पुरानो तस्वीर हो । विद्यामन्दिर हाईस्कूल माथिबाट लिईएको तस्वीरमा बागलुङ चौरको तत्कालीन अवस्था देख्न सकिन्छ ।
साताको तस्वीरमा राखिएको तत्कालीन बागलुङ बजारको तस्वीर बिसं २०२१/२२ सालमा विद्यामन्दिर हाईस्कूलमा आएका अमेरिकी पीसकोर भालिन्टियर डेभिड कार्लसनले खिचेको तस्वीर होे । अहिलेको मुख्य बागलुङ बजारलाई चौरको खेत भनिन्थ्यो । तस्वीरमा अधिकाँश भूभाग (खेत)मा लटरम्म धान फलेको देख्न सकिन्छ । चौरको खेतमा कार्लसनले धान रोपिरहेको अवस्थाको तस्वीर पनि खिचेका छन । कार्लसनले बागलुङचौरको भूभाग सबै समेटिने गरी खण्ड खण्ड तस्वीर खिचेका छन् जुन यहाँ क्रमैसंग प्रस्तुत गरिएको छ ।
२०२१-२०२२ (सन १९६४-१९६५) साल तिर पिसकोर भोलिन्टियर डेभिड कार्लसनले विद्या मन्दिर हाईस्कूलमा सेवारत रहँदा खिचेका यी तस्वीरहरुले तत्कालीन बागलुङ बजारको अवस्थासंग परिचित हुने अपूर्व मौका दिएको छ । यसका लागि फोटोग्राफर कार्लसन प्रति हार्दिक आभार व्यक्त गर्नु समयोचित हुनेछ ।
कार्लसन संग अर्का पिसकोर भोलिन्टियर पनि विद्यामन्दिरमा सेवारत थिए । उनिहरु बागलुङ मझकोट रोमन्तबहादुर मल्ल (स्व)को घरमा बस्दथे । कार्लसनले बागलुङ जिल्लाको ढोरपाटन सम्म पुगेर विभिन्न ठाउँका तस्वीरहरु पनि खिचेका छन् ।
***
यो २०३४ सालमा रातामाटाबाट खिचिएको बागलुङ बजारको तस्वीर हो । त्यस बखतका चचिर्त फाटेग्राफर मुकुन्द शाक्य र यो हरफकारले खिचेको यो तस्वीर अमेरिकी सूचना केन्द्र काठमाडौँबाट प्रकाशित स्वतन्त्र विश्व पत्रिका (२०३४)मा प्रकाशित छ ।
र
यी तल दिईएका बागलुङ बजारका तस्वीरहरु एक वर्ष पहिले इबागलुङका फोटोग्राफर किरण आचार्यले खिचेका तस्वीर हुन् ।
प्रस्तुति: बिदुर खड्का
ईबागलुङ डेस्क ।
२०७४ भदौ २३ ।