काठमाडौं, २०७४ असोज १४ । शुभ विजया दशमी २०७४ को शुभ अवसरमा असोज १४ गने शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले देश विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना दिएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकको रुपमा रहेका दशैं जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेको उल्लेख गर्दै ‘राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सदभाव एवम् क्षेत्र-क्षेत्र, जातजाति र समुदाय-समुदायबीच आपसी भातृत्व कायम गर्न समेत दशैं चाड सफल रहोस् भन्ने कामना गर्दछु ।’
शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले बडादशैंले हिमाल-पहाड-तराई-मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् साँस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् ।
सामाजिक सदभाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्न दशैंले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विभिन्न जात(जाति, समुदाय, भूगोल र धर्मावलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम साँस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने कामना समेत गरेकी छन् ।