बागलुङ २०७४ असोज १५ । सार्वजनिक बिदाका बेला सवारी पास विना सरकारी सवारी साधनहरु चलाउन नपाईने निर्देशन बिपरीत सदरमुकाम बागलुङ बजारमा दुई सरकारी मोटर साईकल चलाएकोले ट्राफिक प्रहरीले आईतबार नियन्त्रणमा लिएर कार्बाही अघि बढाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक छबबहादुर घर्तीले ध १ ब १९ र ध १ ब १३० नम्वरको मोटर साईकल सवारी पास बिना चलाएकोले नियन्त्रणमा लिएको ईबागलुङलाई बताए ।
आज ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ध १ ब १९ नम्वरको मोटर साईकल जिल्ला प्रशासन कार्यालय बागलुङ र अर्को १३० नम्बरको मोटरसाईकल गल्कोट नगरपालिकाको भएको खुल्न आएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृतलाई प्रयोग (चलाउन) गर्न दिईएको सो मोटरसाईकल सार्वजनिक विदाको समयमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा सवारी पास विना नै एक युवकले चलाएको र चालकसंग सवारी ईजाजत पत्र समेत नभएको ट्राफिक प्रनानि घर्तीले बताए ।
गल्कोट नगरपालिकाको नाममा रहेको अर्को ध १ ब १३० नंको मोटरसाईकल चेकजाँच गर्दा सचिवले सवारी पास विना चलाएकोले भेट्टिएकोले नियन्त्रणमा लिएको ट्राफिक प्रनानि घर्तीको भनाई छ ।
गल्कोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीका अनुसार ध १ ब १३० को उक्त मोटर साइकल गनापा १ दुदिलाभाटीका सचिवले प्रयोग गर्दै आएको बताए ।
बिना सवारी पास सार्वजनिक बिदाका समयमा जिल्ला प्रशासन कार्यालयको मोटरसाईकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सम्वन्धमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापासंग संपर्क राख्दा सार्बजनिक बिदाका समयमा विना पास सरकारी सवारी साधनको दुरुपयोग गर्नेहरुमाथि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कार्बाही गर्नुलाई सकारात्मकरुपमा लिएको बताए ।
सरकारी सवारी साधनहरुको बढ्दो दुरुपयोगलाई ट्राफिक प्रहरीको यस कार्बाहीले निरुत्साहित गर्ने विश्वास गरिएको छ । दोषिहरुलाई एकपटकलाई भनेर बिना कार्बाही छोड्न नहुने नागरिक समाजको आवाज रहेको छ ।