बागलुङ, २०७४ असोज १७ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका नेकपा एमाले बागलुङले सर्वसम्मत रुपमा उमेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । कतिपय स्थानमा दलहरुले सर्वसम्मत उमेदवारको नाम सिफारिस गरेका छन् भने कतिपय स्थानमा उमेदवार छनोटका लागि कार्यदल गठन गरी समन्वयको जिम्मेवारी प्रदान गरिएको छ ।
नेकपा एमालेको स्थायी कमिटिले प्रदेश र प्रतिनिधि सभा निर्वाचन समन्वय कमिटिलाई असोज १७ गतेसम्म १ जना महिला सहित ३ जनाको नाम सुझावका रुपमा जिल्ला कमिटिमा पठाउन, जिल्ला कमिटिलाई निर्वाचन समन्वय कमिटिले पठाएका नामहरुमा आफ्नो राय सहित असोज २० गते भित्र प्रदेश सगठन कमिटिमा पठाउन र प्रदेश संगठन कमिटिलाई असोज २३ गतेसम्म तलबाट प्राप्त राय सुझावमा आफ्नो सिफारिस सहित स्थायी कमिटिमा पेश गर्न निर्देशन दिएको छ ।
पार्टी स्थायी कमिटिको निर्देशन अनुसार बागलुङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश नं. १ निर्वाचन समन्वय कमिटिको वैठकले सर्वसम्मत उमेदवार छनोटका लागि ८ सदस्यीय कार्यदल गठन गरेको छ । प्रदेश नम्बर १ मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका वडाहरु समेटिएका छन् ।
सोमबार सम्पन्न वैठकले नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसी, वैकिल्पक केन्द्रीय सदस्य गोविन्दबहादुर नेपाली, काठेखोला गाउँपालिका संगठन कमिटिका संयोजक डिल्लीराज गौतम र सह–संयोजक हुमाकुमारी जिसी (अञ्जु), बागलुङ नगरपालिका समन्वय कमिटिका संयोजक गोविन्द गौतम र सह–संयोजक भरत पुरी, प्रदेश निर्वाचन समन्वय कमिटिका संयोजक गणेश थापा र सदस्य प्रकाश शर्मा रहेको कार्यदल गठन गरेको हो ।
कार्यदललाई आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरुको व्यवस्थापनका विषयमा छलफल गरी सर्वसम्मत उमेदवार चयन कार्यलाई पूर्णता दिने जिम्मेवारी वैठकले दिएको छ । प्रदेश सभा, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा समेत नेताहरुलाई व्यवस्थापन गर्ने गरी छलफल गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।
विगतमा पार्टी नेताहरुको व्यवस्थापन नभएका कारण निर्वाचनमा पराजित हुने लगायतका समस्या भएको भन्दै कमिटिका सदस्यहरुले सर्वसम्मत उमेदवार चयनका लागि दवाव दिएको वैठकका एक सहभागीले जानकारी दिएका छन् ।
उमेदवार चयन सम्बन्धमा उमेदवारको चर्चामा रहेका तथा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु सहित जिल्ला कमिटिका पदाधिकारी, सचिवालय सदस्यहरु सहितको पटक पटकको वैठकले सबै नेताहरुलाई व्यवस्थापन गर्ने गरी अगाडि बढ्ने सुझाव प्राप्त भएकाले यही स्प्रिटमा कार्यदल गठन भएको जनाइएको छ ।
कार्यदलले उमेदवार हुन चाहनेहरुका भावना, सुझाव लिएर सर्वसम्मत बनाउने प्रयास गर्ने टोलीका सदस्य डिल्लीराज गौतमले बताए ।
कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मना केसी, वैकल्पिक केन्द्रीय सदस्यद्वय गोविन्द नेपाली र तिलबहादुर विश्वकर्मा, पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्मा, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश संगठन कमिटिका सदस्य जनक पौडेल, केन्द्रीय जलस्रोत तथा उर्जा विभागका सदस्य हिराबहादुर केसी लगायतको सहमागिता रहेको थियो ।
यसैवीच नेकपा एमाले प्रदेश सभा क्षेत्र नं १ मा निर्वाचन संगठन कमिटीको बैठक सोमबार गल्कोट नगरपालिकाको हटियामा सम्पन्न भएको छ । गल्कोट नगरपालिका, ताराखोला गाँउपालिका र वडीगाड गाँउपालीका रहेको प्रदेश सभामा एमालेका तर्फबाट प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उमेदवारको नामावली सँकलन गरिएको थियो।
बैठकमा प्रदेश सभामा समानुपातिक तर्फ ६ जना, प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारीस गरिएको छ । प्रत्यक्ष तर्फ कमल घिमिरे, यम बहादुर श्रीस, प्रेम खरेल र समानुपातिक तर्फ फरेन्द्र थापा, दिपक रायमाझी, धनबहादुर बिक (धिरेन), टेक बहादुर केसी, शान्ति अधिकारी, र बिना थापाको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा निर्वाचन सँगठन कमिटीका सयोजक शान्ति अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रदेश संगठन कमिटी सदस्य प्रेम खरेको प्रमु्ख आतिथ्यथता, सँघिय मामिला केन्द्रिय सदस्य सुनिल शेरचन, जिल्ला उपसचिब बिष्णु भुषाल, लगाएत बिभिन्न वडाका वडा सँगठन कमिटी अध्यक्ष , सदस्यहरु लगाएतको सहभागिता रहेको थियो । एमालेले प्रतिनिधी सभा २ नम्बर क्षेत्रको मंगलबार खर्वाङमा भेला गरी टुँगाउने बुझिएको छ ।
यसैवीच जिल्लाको पश्चिम क्षेत्रबाट एमालेले ददिराम शर्मालाई प्रदेश सभाको सदस्यको उम्मेदर सिफारिस गरेको छ ।