बुर्तिवाङ २०७४ असोज २४ । नेपालमा ३ सय सामुदायिक रेडियोमा छैठौं अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा एकदिन देशभरका किशोरीहरु नयाँ भूमिकामा देखिने भएका छन् । अक्टोबर ११ अर्थात असोज २५ गते विश्व बालिका दिवसका अवसरमा नेपालका करिव ३ सय किशोरी रेडियोकर्मीको भूमिकामा देखिने भएका हुन् । यसअघि कहिल्यै रेडियोमा काम नगरेका ३ सय बालिका एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्र्तगत नयाँ भूमिकामा देखिन छन् ।
सामुदायिक रेडियो प्रशारक संघ अकोराब नेपाल र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्रा्ष्ट्रिय बालिका दिवस मनाउन लागिएको हो । किशोरीहरुलाई उनीहरुको नियमित संलग्नता भन्दा फरक भूमिकामा निश्चित समयसम्म जिम्मेवारी बहन गराउने अभियानको रुपमा रेडियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्व अर्थात टेक ओभर कार्यक्रम गर्न लागिएको अकोरावका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।
यसैबीच बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा सामुदायिक रेडियो परिवर्तनमार्फत उक्त रेडियो कार्यक्रम भोलि असोज २५ गते प्रशारण हुँदै छ । न्यू मोडर्न एकेडेमीमा कक्षा ८ मा अध्ययनरत अनुस्का सुनारले रेडियो परिवर्तनबाट परिवर्तन बहश सञ्चालन गर्दै छिन् । आवश्यक प्रशिक्षणमा सहभागी बनाएपछि १५ वर्षकी बालिका अनुस्काले तीन जना अतिथिसँगै उक्त बहश कार्यक्रम सञ्चालन गर्न लागकी हुन् ।
भोली विहान ८ वजेर १० मिनेटमा सुरु भई ८ः४० सम्म आधा घण्टासम्मको रेडियो कार्यक्रम परिवर्तन बहशमा वर्तमान अवस्थामा देशभरका किशोरीहरुको अवस्था, उनीहरु के कारणले बालविवाह गर्न पुग्छन र उमेर नपुगी विवाह गर्दा आउन सक्ने समस्या र समस्यामा परेका किशोरीहरुलाई राज्यका तर्फबाट कसरी संरक्षण गर्न सकिएला भन्ने सन्दर्भमा उक्त बहश केन्द्रित हुने रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले बताए ।
कार्यक्रमको नेतृत्व लिनु अघि रेडियो मार्फत अनुस्का जस्तै देशै भरका रेडियो कार्यक्रम सञ्चालिका किशोरीहरुलाई आ आफ्नै रेडियो स्टेशनमा तालिम दिलाइएको छ । बहशमूलक रेडियो कार्यक्रममा नीति निर्माताहरु, जनप्रतिनिधिहरु र सरकारी अधिकारीहरुलाई निम्त्याएर आफू तथा आफूजस्तै अन्य किशोरीहरुका सवालमा छलफल हुने उक्त कार्यक्रम अन्तरगतको रेडियो बहशमा एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना र महिला अधिकारकर्मी दिलमायाँ पौवीसँग अन्तरसंवाद हुने छ ।
देशभर एकैसाथ सञ्चालन हुने उक्त कार्यक्रम सञ्चालिका किशोरीहरुमा १४ देखि १९ बर्षसम्मका दलित, अल्पसँख्यक समुदाय तथा अपांगता भएका किशोरीको सहभागिता रहने छ ।