कौरब खत्री, गुल्मी २०७४ असोज २७ । गुल्मी र बागलुङको पौँदी अमराई कृषि क्षेत्रको अनुसन्धान र आधुनिकीकरण सहित बिभिन्न सुझाब सल्लाह दिन चीनको कृषि बिशेषज्ञ टोली गुल्मीको मुसिकोट आईपुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।
गुल्मी मुसिकोट नगरपालिका -१ मा रहेको भर्माचौर र बागलुङको बडीगाड गाउपालिकाको ग्वालिचौरको कृषि सम्वन्धी सम्भावनालाई अध्ययन र अनुसन्धानको लक्ष्य सहित चीनको राज्य सभाको मातहतको अनुसन्धान बिकास केन्द्रका प्रमुख योङसेङ चाङ्ग, ताइदोङ्ग चाउ, जिगाँग वि र चिरोङ्ग हाओ मुसिकोट आईपुग्दा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा एवं बडीगाड गाउपालिकाका प्रमुख मेहरसिँह पाईजा सहित स्थानीय किसानहरुको ठुलो समूहले स्थानीय बाजागाजा, नाँच गान, भजन तथा भैलो सँगै भव्य स्वागत गरिएको थियो ।
कृषिको अध्ययन अनुसन्धानको लागि चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधि गदै गरेका नेता दामोदर भूषालको विशेष पहल तथा त्रिभुवन विश्व विद्यालय बनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकिकृत कृषि फर्म मुसिकोट नगरपालिका १ गुल्मीको समन्वयमा चीनको केन्द्रिय सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्च स्तरीय टोली गुल्मी तथा बागलुङको पौदी क्षेत्रमा अनुसन्धान परिक्षण सम्भाव्यता अध्ययन लागि आएको हो ।
स्वागत कार्यक्रममा बोल्दै सो अनुसन्धान बिकास केन्द्रका प्रमुख योङसेङ चाङ्गले नेपालमा आफुहरु मित्रवत सम्बन्ध कायम गर्न र केही कुराहरु सिक्न सिकाउन आएको बताउदै उनले भने, ‘हामी यहाँ तीन उद्देश्यहरु लिएर आएका छौ, ‘पहिलो मित्रता कायम गर्ने, दोस्रो चीनमा रहेको प्रविधि र बिकासहरु यहाँ उपलब्ध गराउने र तेश्रो यो ठाँउलाइ हानी नगरी कृषिको बिकासको मार्ग अगाढी बढाउने ।
उनले नेपालमा थुप्रै सम्भावनाहरु रहेको बताउँदै यो परिवेश देख्दा आफ्नो गाँउमा आएजस्तो अनुभुती भएको बताए । उनले काठमाडौबाट यहाँको ३५० किलोमिटर दुरी चीनमा १ घण्टाको यात्रामा पुरा गर्न सकिने बताउँदै यहाँ ११ घण्टा भन्दा बढी लागेको बताए ।
उनले आफुहरु यहाँ यसो गर्नुस उसो गर्नुस भनेर किसानहरुलाइ निर्देशन दिन आएको नभइ किसानहरुको बिचार सुनेर र आफुले त्यसमा सुझाब दिएर काम गर्ने बताए । उनले यहाँको कला र संस्कृतिलाइ सिक्ने मौका पनि मिलेको भन्दै खुशी ब्यक्त गरे । उनले चीन सरकारले नै बनाइदिन लागेको मध्यपहाडी लोकमार्ग हुँदै आफु आउन पाँउदा खुशी लागेको बताए । उनले चीनले मात्र ४० बर्षको उमेरमा बिकासमा फड्को मारेर अगाडी बढेको बताउँदै नेपालमा पनि यो सम्भव भएको बताए ।
कार्यक्रमको अवसरमा बोल्दै चीनको टोली नेपाल ल्याउने काम गरेका समाजसेवी भुषालले चीनका काम धेर, कुरा थोरै गर्ने प्रवृत्ति भएको र त्यहा किसान र जनता अत्यन्तै मिहेनती भएको कारण बिकास भएको बताए । उनले देशमा समृद्धि कसरी स्थापित गर्ने भनेर चिनिया टोली यहाँ आएको बताए । चीन सिद्धान्तले भन्दा पनि मिहेनत र कामले बिकास गरेको उनले बताए । प्राकृतिक रुपले सम्पन्न भएपनि बिपन्न हुनु परेको हामी नेपालीको लागि आजको यो टोलीले बिशेष भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अवसरमा त्रिभुवन बिश्वबिद्यालयका बनस्पति बिभागका प्राध्यापक डाक्टर राम कैलाश यादब, मुसिकोटका मेयर सोमनाथ सापकोटा, बडीगाड गाँउपालिका प्रमुख मेहरसिँह पाइजा, कृषि फर्मका अध्यक्ष जीवन अर्याल लगायतले बोल्दै चीनको कृषि प्रबिधि नेपालमा पनि भित्र्याएर नेपाललाइ पनि समृद्धिको बाटोमा हिड्न सहयोग गर्न आग्रह गरेका थिए ।
विशेषज्ञ टोलीले यस क्षेत्रको कृषिको सम्भाव्यता अध्ययनको लागि बिभिन्न परीक्षणहरु गर्ने भएका छन ।
यो टोलीले अब यहाँ सम्बन्धी बृहत कार्ययोजना बनाइ चीन पठाइएपछि काम सुरु हुने भएको छ । त्यसपछि मात्र यस क्षेत्रका कृषकहरुलाइ चीनमा नै लगेर तालीम प्रदान गरिने जनाइएको छ । कम लागतमा छोटो समयमा अधिक उत्पादन गर्न सकिने गरी तालीम दिन कृषकहरुले त्याहा जाने भएका छन । उनीहरुलाइ आगामी बर्ष २०१८ मा चीनमा लगी तालीम दिइने भएको छ ।
कृषि फर्मका सदस्य यादब घिमिरेको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिब दिनानाथ पौड्यालले गरेका थिए । कार्यक्रममा दोहोरो कुराकानीको लागि दौभाषेको ब्यबस्था गरिएको थियो ।
टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने जनाइएको छ ।
सो अवसरमा कृषि पद्रशनी गरी उत्कृष्ट कृषकलाइ पुरस्कृत पनि गरिएको थियो ।