रबिना बोहरा, बागलुङ कात्तिक १ । जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले देशमा व्याप्त गरिवी निवारणका लागि तीन खम्बे अर्थनीति अन्तरगतको एक खम्बा सहकारी क्षेत्रको भूमिका सबै भन्दा उत्तम हुने बताएका छन् ।
अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा आदर्श सञ्चार सहकारी संस्थ लिमिटेड बागलुङले मंगलवार आयोजना गरेको गरिवी निवारणमा सहकारीको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाले यस्तो बताएका हुन् ।
सहकारीहरु क्षेत्रमा पनि समस्या छन, सहकारीका नाममा केही व्यक्तिहरुले कम्पनीको जस्तो कारोबार गरी धनी बन्ने गरेको भन्दै उनले वास्तविक सहकारीहरुको पहिचान गरी गरिवी निवारणका कोषहरु सहकारीमार्फत परिचालनमा जोड दिए ।
आज जनतालाई आयआर्जन गर्न, वचत गर्न र कर तिर्न योग्य नागरिक बनाउन सहकारीले समाजमा जति योगदान गरेको छ, त्यति कसैले गर्न सकेको छैन भन्दै ढुंगानाले राज्यका नीति नियमहरु ज्नताको आर्थिक सामाजिक परिवर्तन गर्ने सहकारीहरुको पक्षमा हुनु पर्ने बताए ।
देशको विकासका लागि स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्नु पर्छ र त्यसका लागि हाम्रो जस्तोे देशमा सहकारी माध्यम नै सबै भन्दा उपयुक्त हुने भभ्न्दै उहाँले सहकारीका नाममा बदमासी गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने बताए ।
सञ्चार सहकारीले सञ्चार क्षेत्रमा गरेको जस्तै गरिवी निवारणका क्षेत्रमा अन्य सहकारीहरुको भूमिका बढाउनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सहसंयोजक विष्णु भुषालले विपन्न वर्गका जनतालाई कामको वातावरण सिर्जना गरेर आयआर्जन गर्ने बानीको विकास गर्नका लागि सहकारीहरुले गरेको काम सह्रानीय भएको बताए । उनले सहकारी क्षेत्रमा दोहोरो सदस्यताका कारण धेरै संस्थाबाट कर्जा लिने र काम केही नगर्ने प्रवृति बढेको भन्दै सचेत हुन आग्रह समेत गरे ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अबिरल’ लगायतले मन्तव्य दिएका थिए ।
कृषि सहकारी संघ बागलुङका अध्यक्ष अनन्तबहादुर खड्का, राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्य, सूर्य महिला सञ्चार सहकारी संस्थाका अध्यक्ष सुजाता घमाल, स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सूर्यबहादुर महत लगायतले सहकारीले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा सहकारीलाई राज्यले सहयोग गरी गरिवी निवारणमा अग्रसर गराउन आवश्यक रहेको बताएका थिए ।
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस र गरिवी निवारणमा सहकारीको भूमिका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम सहकारीका अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।