कोपिला कँडेल, बागलुङ २०७४ कात्तिक ६ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलत बाम गठबन्धनले सोमबार गरेको पत्रकार सम्मेलनमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य देबेन्द्र पौडेलले मुलुक अव बामपन्थीमय बन्न लागेको दाबी गरेका छन् । बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यमा उमेदवारी दिएका पौडेलले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दुनियाँको जुनसुकै शक्तिले पनि बामपन्थीको बिजयलाई रोक्न नसक्ने उद्घोष गरे ।
माओबादी केन्द्रका नेता पौडेलले भने मुलुकको आमुल परिवर्तनका लागि बामपन्थीको जीत अनिबार्य छ, अव केही समय पछिनै समाजबाद उन्मुख कम्युनिष्ट सरकार बन्नेछ ।
जिल्लाका समग्र बामपन्थी गठबन्धनमा प्रत्यक्ष तर्फको महिला उम्मेद्वार नभएको भन्ने पत्रकारको प्रश्नमा उनले संबिधानले व्यवस्था गरे अनुरुप ३३ प्रतिशत महिला समानुपातिकबाट आउने बताए । संबिधानले सजिलो बाटो बनाएकाले महिलाहरुले प्रत्यक्ष तर्फ दाबी नगरेको उनको स्पष्टोक्ति थियोे ।
गठबन्धनले आगामी निर्वाचनमा बाम गठबन्धनका उमेदवारहरुलाई विजयी गराउनका लागि विभिन्न कमिटि गठन गरेको छ । निर्वाचन केन्द्रित काम तथा परिचालनलाई प्रभावकारी बनाउनका लागि ९ सदस्ीयय निर्वाचत समन्वय कमिटि गठन गरिएको नेकपा एमालेका अध्यक्ष एवं क्षेत्र नं १ बाट क प्रदेश सभाका लागि उमेदवार बनेका इन्द्रलाल सापकोटाले बताए ।
कमिटिको सदस्यमा नेकपा एमालेका तर्फबाट मनकुमारी केसी, गोविन्द नेपाली, मोहनलाल शर्मा, नेकपा माओवादीका तर्फबाट फमलाल न्युरे, ज्ञामनाथ गैरे, कृष्ण केसी, जनमोर्चाका तर्फबाट राजेन्द्र ढुंगाना, लक्ष्मी बास्कोटा, अमर थापा रहेका छन् ।
यस्तै नेकपा एमालेका रामजीप्रसाद शर्मा संयोजक रहेको बागलुङ क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटी र माओवादी केन्द्रका फमलाल न्युरे संयोजक रहेको बागलुङ क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
यस्तैगरी नेकपा एमालेका नरबहादुर थापा संयोजक रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ ‘क’ निर्वाचन परिचालन कमिटि, राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन संयोजक रहेको प्रदेश सभा १ ‘ख’ निर्वाचन परिचालन कमिटि गठन गरेको राष्ट्रिय जनमोर्चाका अमर थापाले बताए । यस्तै ज्ञामनाथ गैरे संयोजक रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ ‘क’ निर्वाचन परिचालन कमिटि गठन गरेको माओवादी केन्द्रका इन्चार्ज फमलाल न्युरेले बताए ।
यस्तै जनमोर्चाका धर्मबहादुर कँुवर संयोजक रहेको प्रदेशसभा २ ‘ख’ निर्वाचन कमिटि गठन गरिएको नेकपा एमालेका सचिव लालबहादुर थापाले जानकारी दिए । यस्तै निर्वाचनसंग सम्बन्धित कानुनी प्रक्रिया एवं प्रावधानका बिषयमा परामर्शका लागि कानुनी परामर्श समिति पनि गठन गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङ्गानाले कार्यक्रमको बारे जानकारी गराएका थिए । कार्यक्रम नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मना केसीको अध्यक्षता र माओबादी केन्द्रका कृष्ण केसीको संचालनमा सम्पन्न भएको थियो ।