बागलुङ, २०७४ कात्तिक ७ । संयुक्त बाम गठबन्धनका उमेदवारहरुलाई निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराउने अभियान सफल पार्न नेकपा एमाले बागलुङले १ हजार १ सय १ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
मंगलवार बिहान बसेको जिल्ला कमिटि वैठकले संयुक्त बाम गठबन्धनका तर्फबाट बनेको जिल्ला निर्वाचन समन्वय समिति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय परिचालन समितिलाई सहयोग गर्ने लक्ष्यका साथ जिल्ला स्तरीय निर्वाचन परिचालक कमिटि गठन गरेको हो ।
एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकको संयोजकत्वमा बनेको जिल्ला निर्वाचन परिचालन कमिटिमा जिल्ला कमिटिका सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, जिल्ला सल्लाहकारहरु, प्रदेश विभागका सदस्यहरु, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटि, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटि, गाँउपालिका तथा नगरपालिका कमिटिका सदस्यहरु, जनसंगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु तथा जिल्ला अध्यक्षहरु, वडा कमिटिका पदाधिकारीहरु लगायत रहेको एमालेले जनाएको छ ।
बागलुङका तीन बामपन्थी दलहरुले जिल्ला स्तरमा समन्वय गर्नका लागि सबै दलबाट ३÷३ जना सदस्य रहेको उच्च स्तरीय जिल्ला समन्वय समिति , प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन परिचालन समिति र प्रदेशसभाका लागि ४ वटा निर्वाचन परिचालन समिति गठन गरेका छन् ।
संयुक्त रुपमा गठन गरिएका समितिहरुलाई सहयोग पुग्ने गरी पार्टीका सबै तहका नेता कार्यकर्तालाई निर्वाचनमा परिचालन गर्ने उदेश्यले पार्टीका तर्फबाट छुट्टै परिचालन समिति गठन गरिएको नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मना केसीले जानकारी दिईन् ।
वैठकले निर्वाचन परिचालनका लागि विभिन्न समितिहरु गठन गरी पार्टी नेता कार्यकर्तालाई जिम्मेवारी दिएको छ । जिल्ला निर्वाचन परिचालन कमिटि अन्तरगत प्रचार प्रचार समन्वय तथा निर्देशन समितिमा रामबहादुर जिसी, धनबहादुर परियार, हरिनारायण गौतम, रामकृष्ण शर्मा, हिमाल शर्मा, दिल शिरिष, गणेश पौडेल रहेका छन्
यस्तै वैठक पुनमप्रसाद शर्मा संयोजक र सम्पन्न श्रेष्ठ सहसंयोजक रहेको स्वयंसेवक परिचालन समिति, गणेशबहादुर थापा संयोजक रहेको आर्थिक संकलन तथा परिचालन समिति, भरत पुरी संयोजक रहेको सम्पर्क कार्यालय व्यवस्थापन समिति, रामबहादुर जिसी संयोजक रहेको मत सर्वेक्षण तथा विश्लेषण समिति, लालबहादुर थापा संयोजक रहेको सम्पर्क समन्वय तथा सूचना संकलन समिति, हुमाकुमारी जिसी (अञ्जु) संयोजक रहेको मतदाता शिक्षा समिति गठन गरेको छ ।
यस्तै वैठकले जनकराज पौडेल संयोजक रहेको जनप्रतिनिधि समन्वय तथा परिचालन समिति र कर्मचारी व्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ । निर्वाचनमा महिला परिचालनका लागि वैठकले गीता देवी शर्मा, ममतादेवी शर्मा, शान्ति अधिकारी रहेको उच्च स्तरीय समिति तथा सावित्रा राना संयोजक रहेको महिला परिचालन समिति, कुमार खड्का संयोजक रहेको यातायात व्यवस्थपन समिति गठन गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जनाउनु भएको छ ।
वैठकले नेकपा एमालेको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार निर्माण गरी आर्थिक समृद्धिको अभियानमा अगाडि बढ्नका लागि बामपन्थी शक्तिहरुलाई विजयी गराउन आवश्यक रहेको निष्कर्षका साथ सम्पूर्ण नेता कार्यकर्ता, समर्थक, सुभेच्छुकहरुलाई परिचालन हुन तथा राष्ट्र, राष्ट्रियता र जनजिविकामा सुधार ल्याउनका लागि बामपन्थीहरुलाई सहयोग गर्न जिल्लावासी सम्पूर्ण जनतालाई अपिल गर्ने निर्णय गरेको छ । वैठकले जिल्लामा तालमेल गरेका सबै बामपन्थी शक्तिहरुको स्थानीय कमिटिहरुसंग समन्वय गरी भेला, वैठक लगायत निर्वाचन परिचालन सम्बन्धी गतिविधिलाई तिब्रता दिन निर्देशन गरेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले मुलुकमा विकास र समृद्धिको ढोका उघार्ने भएकाले आम जनसमुदायलाई यो अभियानमा सक्रियताका साथ सहभागी गराउन, बामपन्थी उमेदवारहरुलाई मतदान गर्न मतदाता शिक्षा लगायतका अभियान सञ्चालन गर्ने लगायतका निर्णय वैठकले गरेको छ ।