बोवाङको चुनावी प्रचार अभियानमा स्थानीयले आरक्षमा सेना राखेकोमा विरोध जनाए !
राम सुवेदी, बुर्तिवाङ २०७४ कात्तिक १३ । संयुक्त बाम गठबन्धनको चुनावी अभियान सोमबार ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न भएको छ ।
चुनावी सभालाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का साझा वाम उमेद्वार देवेन्द्र पौडेलले यो देशको आमुल परिवर्तनका लागि अब नेपालमा कम्युनिष्टहरुले कम्तिमा २० वर्ष शासन गर्नु आवश्यक रहेको बताए । देशमा लामो समय काँग्रेसले शासन गरिरहेको अवस्थामा देशले स्थायित्व र विकास निर्माणले गति लिन नसकेको आम नेपाली जनताका माझ स्पष्ट भएको भन्दै नेता पौडेलले, राज्यलाई स्थायित्व दिई विकास र समृद्धिका लागि बाम तालमेल भएको बताए ।
देशैभर छरिएका बाम पार्टीहरु एक ठाउँमा भएर निर्वाचनमा होकिएको सन्देशसँगै आफूहरु जनताकाबीच मत माग्न आएको बताउँदै पौडेलले, जनताले अव बाम गठबन्धन बाहेक अन्त मतहालेर मतदानलाई खेर नफाल्न समेत आग्रह गरेका थिए । यो गठबन्धन केबल बाम पार्टीहरुको मात्र नभई देशलाई स्थायीत्व देख्न चाहने र राष्ट्रको विकास निर्माणमा चासो राख्ने प्रजातान्त्रिक विचार समुहको समेत भएकाले सबैले यो गठबन्धनलाई आत्मसाथ गर्दै संयुक्त बाम गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरेका थिए ।
तीन बाम पार्टीहरु नेकपा एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाका अगुवा कार्यकर्ता, समर्थक, नेता तथा स्थानीय जनताको व्यापक उपस्थितिमा भएको आम सभालाई संयुक्त बाम गठबन्धनका तर्फबाट बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत, तमानखोला, ढोरपाटन निसीखोला कलस्टर प्रदेश २ का प्रत्यासी उमेदवार टेकबहादुर घर्तीले पनि संबोधन गरेका थिए ।
भौगोलिक अवस्थाबाट पिछडिएको क्षेत्रले सही उमेदवार नपाउँदा र देशमा गरिखाने वर्गको सरकार स्थायी नहुँदा जनताका आधारभुत समस्याहरु जस्ताको तस्तै भइरहेको बताउँदै नेता घर्तिले, अव बाम पार्टीहरुको यो संयुक्त गठबन्धनले प्रदेश र केन्द्र सरकारमा बहुमत ल्याउने भएकाले जनताले एकपटक साथ दिनु पर्ने बताए । देशको आर्थिक विकाससँगै समृद्ध राष्ट्र निर्माण नभएसम्म आम नागरिकका समस्याहरु हल हुन नसक्ने भन्दै घर्तिले, बाम पार्टिहरु अव जनताका समस्या समाधानका लागि जनतासँग समेत गठबन्धन चाहेको स्पष्ट पारे ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबै दलित, जनजाति, उत्पीडनमा परेको वर्ग समुदायले पूजीपति वर्गको पार्टी होईन गरिव दुखी जनताको साथमा रहने कम्युनिष्ट पार्टीका साझा उमेदवारहरुलाई मतदान गरि विजयी बनाउन जनतालाई उनको आग्रह थियो ।
यस्तै सभामा विभिन्न वक्ताहरुले ढोरपाटन सिकार आरक्ष र त्यससँग सम्बन्धित बन ऐन २०२९ ले स्थानीय जनताको उपभोगमा रहेको, चरिचरन र उपभोगमा रहेको बन नेपाली सेना राखेर कब्जा गरेको आरोप लगाएका छन् । तत्काल जनताको आफ्नो स्वामित्व र अधिकार समान रहने गरि उक्त ऐनलाई संशोधन गर्न सबै जनताले बाम पार्टीका उमेदवारलाई मतदान गर्न स्थानीय जनताले उनीहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका नेता मोहनलाल शर्मा, माओवादी केन्द्रका नेता तुल्सीराम अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, माओवादी केन्द्रका पूर्व सभासद वलावती शर्मा, माओवादी केन्द्रकै पोलिटिव्युरो सदस्य रेशम थापा, ढोरपाटन नगरपालिकाका उपमेयर कर्मती पुन मगर, नेकपा एमाले जिल्ला कमिटि सदस्य बीरबहादुर विश्वकर्मा, अखिल नेपाल शिक्षक संगठकका क्षेत्रिय अध्यक्ष रामबहादुर घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष धनबहादुर अदैको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार भद्रम्नी सुनारको स्वागत मन्तव्य तथा नेकपा एमाले नगर संगठन कमिटिका सदस्य अमर बुढामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।