थम्मन थापा सन्देश, बागलुङ २०७४ कात्तिक १४ । जिल्लाको पश्चिम क्षेत्रका विभिन्न स्थानमा विद्युत प्रसारण बन्द हुँदा नमस्ते मोवाईल सेवा अवरुद्ध भएको छ । तमानखोला गाउॅपालिकाको बोगांदोभानमा रहेको नमस्ते मोवाईल टावरमा जाने विद्युतका काठका पोलहरु जीर्ण भएपछि अहिले फलामका पोलहरु फेर्ने काम भईरहेको कारण मोवाईल सेवा अवरुद्ध भएको नेपाल टेलिकम बागलुङका प्रमुख एंव वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
त्यस्तै विद्युत नभएको कारण अर्को टावरबाट खुङ्खानीमा रहेको टावरको रेडियो लिङ्कमा रिले नहुँदा त्यहाँको नमस्ते मोवाईल टावर समेत अवरुद्ध बनेको छ । यता बुर्तिबाङको अर्नाकोटमा पनि विद्युत सप्लाई बन्द भएपछि नमस्ते मोवाईल पुर्ण रुपमा बन्द भएको छ ।
विद्युत सुचारु गराउन सबै ठाउॅमा प्रयास भईरहेको टेलिकमले बताएको छ । मोवाईल टावरहरुमा विद्युत प्रसारण नहुँदा अहिले नमस्ते मोवाईल सेवा पुर्ण रुपमा बन्द भएको छ ।
टावर बन्द हुँदा फोन सम्पर्क नहुनुको साथै ईन्टरनेट सेवा मोवाईल डाटा थ्रिजी समेत अवरुद्ध भएको सेवाग्राहीले बताएका छन् ।
अर्नाकोटमा विद्युत प्रसारण भएपनि टावरमा विद्युत सप्लाई नभएको र मर्मतको लागि नेपाल टेलिकमको टोली त्यस तर्फ प्रस्थान गरेको नेपाल टेलिकम बागलुङले जनाएको छ । बागलुङको पश्चिम क्षेत्रमा सञ्चालित नेपाल टेलिकमका मोवाईल टावरहरु स्थानिय लघुजलविद्युत मार्फत सञ्चालन हुँदै आएका छन ।