कोपिला कंडेल, बागलुङ, २०७४ कात्तिक २० । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले बामपन्थीको सरकारबाट मात्र देश समृद्धि तर्फ लाग्ने दाबी गरेका छन् ।
जैमुनी नगरपालिका १ कुस्मिसेरामा सम्पन्न बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले मुलुकको आमुल परिवर्तनका लागि बाम उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।
उनले मुलुकलाई अग्रगमन तर्फ लैजानका लागि आफुहरुले बिशेष कार्ययोजना तयार गरेको दाबी समेत गरे । लामो राजनीतिक गतिरोधलाई चिर्दै स्थायी शान्ति र सुशासन कायम गर्नका लागि आफुहरु बामतालमेल गरेको भन्दै माओबादी नेता शर्माले अन्य दललाई मत दिएर खेर नफाल्न आग्रह समेत गरे ।
कार्यक्रममा बागलुङ क्षेत्र नम्बर एक प्रतिनिधिसभा सदस्यका उमेदवार एवं नेकपा एमालेका नेता डाक्टर सूर्य पाठकले जिल्लाको विकास विना जनताले सेवा सुविधा पाउन नसक्ने भन्दै आफूले जिल्लाको विकासका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढेको बताए ।
यस्तै क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा (ख) का उमेदवार कृष्ण थापाले अघिल्लो पटक जिल्लाका तिन वटै क्षेत्र नेपाली कांग्रेसले जित्दा विकास गर्नुको साटो झनै अपारदर्शी कार्य भएको, विकासका नाममा आएका बजेटमा अनियमितता भएको, संसद विकास कोषको बजेट समेत सही सदुपयोग नभएको भन्दै बाम उमेदवारलाई बिजयी गराउन अनुरोध गरे । कार्यक्रममा नेकपा एमालेका नेता रामजी शर्मा, नेकपा एमाले निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका बलावती शर्मा, राष्ट्रिय जनमोर्चाका मिना पुन, जिल्ला अध्यक्ष अमर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जैमुनी नगरपालिका संयोजक वीरेन्द्र थापाको अध्यक्षता, माओवादी केन्द्रका शोभाप्रसाद शर्माको स्वागत र भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।