चप्पलवाली भन्छिन्, ‘दिनभर मोबाईलमा फेसबुक चलाएर समय बिताउछु !’
प्रकाश पौडेल, पर्वत २०७३ माघ १७ । सदरमुकाम कुस्मा बजारमा आयोजना गरिएको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज पाँचौ दिन सम्म आई पुग्दा न उद्योग न व्यापार, न पर्यटन न संस्कृति कुनै पनि दृष्टिकोणले सफल नदेखिएको आम दर्शकहरुको गुनासो रहेको छ ।
आयोजकहरुको कमजोर व्यवस्थापन र लापर्वाहीका कारण औद्योगिक व्यापार मेला भनि उद्घोष गरिएपनि न यस्ले व्यापार मेलाको रुप लियो, न यस्ले पश्चिमान्चल को त के, पर्वत जिल्लाकै घरेलु उद्योग, कला, सँस्कृति, पर्यटनको विकासमा योगदान पुराउन सक्यो, जारी महोत्सव, आम दर्शकको मुल्यांकनमा, एक भकारी लोक दोहोरी गायकहरुलाई जम्मा गरेर गाईजात्रामा परिणत गरियो, दर्शकहरुबाट उठाएको पैसा कलाकारहरुलाई पोस्ने काम गरियो ।
उता पश्चिमान्चल औद्योगिक मेला र पाँचौ पर्वत महोत्सवको प्रचार सुनेर व्यापार गर्न आएका पर्वतका विभिन्न भाग र अन्य जिल्लाहरुबाट आएका उद्योगी व्यापारीहरु स्टल सुनसान बनेपछी पुँपुरोमा हात राखेर सुस्केरा हाल्न थालेका छन् । ‘मालसमान ढुवानी गरी ल्याउदा लैजादाको खर्च उठ्ने कुरा त छोड्नुस्’ उनिहरु भन्छन्, ‘पाँच दिन भयो पाँच चीत खाईयो, खाने खर्च पनि भ्याईयो ।’
स्मरणीछ, महोत्सवमा १७० भन्दा बढि स्टल रहेका छन् ।
पोखराबाट जुत्ता र चप्पलको व्यापार गर्न आएकी एक चप्पलवाली युवतीले भनिन्, ‘व्यापार शुन्य छ, दिनभरी मोबाईलमा फेसबुक चलाएर समय काटेकी छु ।’ उनले भनिन्, ‘यस्तो हुन्छ भन्ने थाहा भए त किन आउँथेर । के के के नै व्यापार होला भनेर आएको स्वाद् खाईयो ।’
पर्वत कुर्घाकी सुनिता पौडेल (सौगात पुतली घर) महोत्सवमा व्यापार गर्न आएको पाँच दिन भयो व्यापार छैन माखा धपाएर बसेकी छु भन्न लाज मानिनन् । आयोजकहरुले व्यवस्थापन गर्न नसक्दा दु:ख पाईयो । जो आउँछ उही लोक दोहोरी हेर्न जान्छ । हाम्रो स्टल तिर हेर्दै हेर्दैनन् ।
महोत्सव स्थलमा कपडा पसलको स्टल राखेर बसेकी तनहुँकी शीला शर्माको दुखेसो झन मार्मिक छ । उनले भनिन् ‘आज बोहोनी नै भएन । दिन भरी त्यत्तिकै बसेर समय खेर गयो ।’
यी स्टलवालाहरु केवल प्रतिनिधी पात्र हुन् । अधिकांश स्टलवालाहरुको हाल यस्तै छ । उनिहरुको पीडामा मल्हम लगाउने काम आयोजकहरुबाट भएको छैन । पर्वत महोत्सवको नकारात्मक सन्देश बाहिर जाने भयो भन्ने चिन्ता सामाजिक अभियन्ताहरुलाई परेको छ ।
काली गण्डकीमा जलविहार, दुर्लुङबाट पाराग्लाईडिङ, लामो झोलुंगे पुल, यान्त्रिक पुल, उँट, चौँरीगाई स्ट्रिच चराको प्रदर्शन आदि आदि जे जति आकर्षणका कुराहरु आयोजकले प्रचारमा ल्याए ती सबै झुठ सावित भए । झुठा कुराहरु गरेर जनताका आँखामा छारो हाल्ने काम भएकोमा दर्शकहरुले आयोजक प्रति घोर विरोध दर्शाएका छन् ।