बागलुङ, २०७४ मंसिर ९ । जिल्लाको जैमिनी नगरपालिका—९ पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटिएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्दै गर्दा अज्ञात व्यक्तिले १५/२० परिचय पत्र लिएर गएको र पछि जैमिनी—९ का वडाध्यक्षले करिब ७० वटा मतदाता परिचयपत्र कब्जामा लिएर लगेको मतदान अधिकृत जोवन काफ्लेले बताए ।
वडाधयक्ष थापा स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार भई विजयी भएका थिए । बढि मतपत्र लिएर गएका व्यक्तिहरुको खोजी भएको र परिचयपत्र फिर्ता गराउने प्रयास भैरहेको काफ्लेले बताएका छन् ।
मूख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले भने परिचयपत्र लुटिएको नभई कतिपय व्यक्तिहले बढि लगेको भन्ने जानकारी आएको बताए । उनले प्रहरी प्रशासनको सहयोगमा घटनालाई सामान्यीकरण गरेर भोलि बिहान निर्धारित समयमा मतदान सुचारु गर्ने प्रयास भैरहेको जानकारी दिएका छन् ।
मतदाता परिचयपत्र बाहेक पनि नागिरकता मालपोतको कागज वा अरु कुनै फोटो सहितको सरकारी कागजपत्रका आधारमा मतदान गर्न पाईने भएकाले परिचयपत्रकै कारण मतदानमा समस्या नहुने पण्डितको भनाई थियो ।