Sorry, that menu does not exist.
 

विष्फोटनमा परी पूर्वमन्त्री गगन थापा सहित ११ जना घाइते

काठमाडौं, २०७४ मंसिर १८ । बुढानिलकण्ठ नगरपालिका चपली हाईट दुध डेरी नजिक नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री गगन थापाको घरदैलो कार्यक्रम रहेको स्थानमा सोमबार बिष्फोटक पदार्थ बिष्फोटन हुँदा पूर्वमन्त्री थापा समेत ११ जना घाइते भएका छन् ।

घाइते सवैजनालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा पूर्वमन्त्री थापालाई उपचार पश्चात डिस्चार्ज गरिएको छ भने अन्यको उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्नेहरु ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, ३६ वर्षीय राजकाजी श्रेष्ठ, २८ वर्षीय जयराम लामिछाने, ३२ वर्षीय रेणु बडुवाल, ३० वर्षीय सुमन खड्का, ४० वर्षीय ध्रुब खड्का, ४७ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ४४ वर्षीय रबिन्द्र कार्की, ४० वर्षीय काशीलाल श्रेष्ठ र ४० वर्षीया पार्वती श्रेष्ठ रहेका छन् । घाइतेमध्ये श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर र अन्यको बोल्न सक्ने रहेको थाहा हुन आएको छ ।

यसैबीच काठमाडौं महानगरपालिका लाजिम्पाटस्थित एभरेष्ट बैंकको अगाडिको पेटीमा क्यान बियरमा रातो टेप टाँसेर ३ वटा भाँडामा तार र डेटोनेटर जडित अबस्थामा सोमबार फेला परेको विष्फोटक पदार्थ महानगरीय प्रहरी बृत्त दरबारमार्गको प्रहरीको समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिष्पोज गरेको छ ।

उता ललितपुरको महाकाल–३ च्यानडाँडास्थित जंगलमा रुखको फेदमा झारपातले छोपी राखेको अबस्थामा सोमबार फेला परेको प्रेसर कुकर बम ईलाका प्रहरी कार्यालय टुङगनको प्रहरी टोली र नेपाली सेनाको टोलीले डिस्पोज गरकोे छ ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित निर्माण हुँदै गरेको सुकुटी पसलको छेउमा सोमबार फेला परेको टिफिन बक्स बम जिल्ला प्रहरी कार्यालयको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ भने डडेल्धुराको परशुराम नगरपालिका–१२ लालढुंगा बसपार्क नजिक प्रेसर कुकरमा ब्याट्री जोडी बोरामा राखी माटोमुनी राखेको अबस्थामा सोमबार फेला परेको विष्फोटक पदार्थ ईलाका प्रहरी कार्यालय जोगबुढाको प्रहरी टोलीको समन्वयमा नेपाली सेनाले डिस्पोज गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित बृहस्पती पेट्रोलपम्प नजिकै सडक किनारामा जेब्रा झोलाभित्र प्रेसरकुकरमा स्वीच जोडिएको अवस्थामा आइतबार फेला परेको कुकर बम जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा नेपाली सेनाको कालीभन्जन गण एयरपोर्टको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply